पर्यटकको रोजाईमा ‘बोटिङ’ र ‘घोडसवार’

इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा आयोजित ‘ढापपोखरी पर्यटन महोत्सव’ मा घोडसवारमा रमाउँदै पर्यटकहरु ।

जमुना (इलाम)  : इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढापपोखरीमा आयोजित ‘ढापपोखरी पर्यटन महोत्सव’ मा पर्यटकको पहिलो रोजाईमा बोटिङ र घोडसवार परेका छन् ।

पर्यटन प्रर्वधन गर्ने उदेश्यले आयोजित महोत्सवको दोश्रो दिन अधिकाशंक पर्यटकहरु बोटिङ र घोडसवारमा व्यस्त देखिन्थे । आयोजकले पर्यटकका लागि दुई वटा डुङ्गाको व्यवस्था गरेको छ । एक जना व्यक्तिको ५० रुपैयाँ शुल्क लिने गरेको छ । शुल्क तिरेपछि पर्यटकले पोखरी वरिपरि बोटिङ गर्न पाउनेछन् ।

जिल्ला बाहिर र जिल्लाबाट महोत्सवमा आउने पर्यटकको मनोरञ्जनका लागि आयोजकले डुङ्गाको व्यवस्था गरेको हो । महोत्सवमा दैनिक सयौंको संख्यामा पर्यटकहरु डुङ्गा सयर गर्दै मनोरञ्जन लिएका छन् । ढापपोखरीमा विगत २ वर्षदेखि डुङ्गा संचालनमा छन् ।

त्यस्तै पर्यटकको अर्को रोजाई घोडसवार बनेको छ । पर्यटकहरु घोडा चढेर ढापपोखरी वरिपरि परिक्रममा गर्न व्यस्त देखिन्थे । आयोजकले अन्यत्रबाट दुई वटा घोडा भाडामा लिएर पर्यटकलाई घोडसवारमा सहजता बनाएको हो । घोडसवार वापत आयोजकले तीन सय रुपैयाँ शुल्क लिने गरेको छ । जिल्लाको पर्यटकीय क्षेत्र कन्याममा मात्र घोडसवारको सुविधा भएपनि आयोजकले यस महोत्सवमा त्यस्तो व्यवस्था गरेको हो ।

दोश्रो प्राथमिकतामा भने फिसिङ परेको छ । निश्चित शुल्क तिरेपछि पोखरीको माछा आफैंले मार्न पाईने र लैजना समेत पाईने व्यवस्था आयोजकले मिलाएको छ । ५ सय रुपैयाँ तिरेर माछा मार्न पाईने र त्यो माछा आफैंले लैजान पाईने व्यवस्था आयोजकले मिलाएको छ । बजार क्षेत्रबाट जाने पर्यटकहरु भने फिसिङमा नै रमाएका छन् ।

इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा आयोजित ‘ढापपोखरी पर्यटन महोत्सव’ मा बोटिङमा रमाउँदै पर्यटकहरु ।

चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको आयोजनमा जारी महोत्सवमा साँस्कृतिक कार्यक्रम समेत संचालन भएका छन् । साँस्कृतिक कार्यक्रममा कलाकार कुवेर राई, भुपेन राई, कृति राई, कोमल निरौला, देवी गौतम, विजय फागो, बसन्ती लिम्बू, रोशन गुरुङ, इन्द्र गुरुङलगायको प्रस्तुती थियो ।

महोत्सवमा विभिन्न जातजातिको परम्परागत संस्कृतिको प्रर्दशनी, जातिय खाना र भेषभूषाको प्रर्दशनी, ऐतिहासिक र पुरातात्विक सामाग्री प्रर्दशनी गरिएको छ ।

ढापपोखरी जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित पोखरी हो । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई २ सय १५ मिटर र चौडाई १ सय मिटर छ । सामान्य सीमसार रहेका क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरी निर्माण भएको हो ।

२०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर निर्माण थालेको ढापपोखरीले एक वर्षपछि पोखरीको आकार लिएको थियो । पहिलो दिन नै करिब एक हजार पाँच सय जनाले पोखरी निर्माणका लागि श्रमदान गरेका थिए ।

चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा पोखरीको संरक्षण र विस्तार थालिएसँगै वर्षेनी महोत्सवको आयोजना हुन थालेको हो । २०७२ वैशाख यता ४ वटा महोत्सव सम्पन्न भइसकेका छन् । ढापपोखरी इलाम सदरमुकामबाट करिब २२ किलोमिटर उत्तरमा पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार