काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तिब्बती नागरिक र उत्तर कोरियाका सम्बन्धमा नेपालमा अमेरिकाको चासो रहेको बताएका छन् ।
पत्नी सीता दाहालको अमेरिकामा उपचार गराएर बिहीबार स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै नेपालमा रहेका तिब्बतीको मानवअधिकार र उत्तर कोरियालाई हेर्ने नेपालको दृष्टिकोणबारे अमेरिकाको चासो रहेको बताए ।
‘भेनेजुएलाको विषयमा कुरा उठेन’
आफू अमेरिकामा रहँदा विदेश मन्त्रालयअन्तर्गत् दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी ब्यूरोकी उपसहायक मन्त्रीसँगको भेटमा इन्डो एसिया प्यासिफिक कमान्डलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।
तर, भेनेजुएलाको विषयमा भने कुनै कुरा नउठेको उनले दाबी गरे ।
‘बदनाम गराउने प्रवृत्ति’
अध्यक्ष दाहालविरुद्ध अमेरिकाको मेरिल्यान्ड अदालतमा परेको उजुरीबारे जिज्ञासा राख्दा उनले अमेरिकामा बसोबास गर्ने केही नेपालीहरुमा नेपालबाट गएका राजनीतिक नेता र नागरिकलाईसमेत बदनाम गराउने प्रवृत्ति रहेको भनी टिप्पणी गरे ।
सकारात्मक प्रभाव
दाहालले सीताको अमेरिकाका विभिन्न तीनओटा अस्पतालमा उपचार गराइएको र सकारात्मक प्रभाव परेको जानकारी दिए ।