सम्पादक योङहाङ प्रदेश उपाध्यक्षमा निर्वाचित

  प्रकाश नेपाल
0 Shares

इलाम : इलामबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ संघीय प्रेस फोरम नेपाल प्रदेश १ को उपाध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक प्रादेशिक भेलाबाट योङहाङ प्रदेश उपाध्यक्षमा  निर्विरोध निर्वाचित भएका हुन् ।

विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील योङहाङ नयाँ बुलन्द डटकमसँगै सौर्य राष्ट्रि दैनिकमा समेत विगत ८ वर्षदेखि कार्यरत छन् । योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलाम अध्यक्ष तथा प्रदेश १ का अधिवेशन आयोजक समितिका सदस्य समेत हुन् ।

यसैगरी नयाँ बुलन्द डटकमका पाँचथर प्रतिनिधि युद्धबहादुर बोहोरा समेत प्रदेश सदस्यमा निर्वाचित भएका छन् । करिब आधा दशकदेखि पत्रकारितामा क्रियाशील बोहोरा नयाँ बुलन्द डटकमसँगै पूर्वाञ्चल दैनिक र रेडियो रविमा समेत कार्यरत छन् ।

बुलन्द आवाज मिडिया (प्रा.) लि.द्वारा प्रकाशित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम इलामबाट व्यवसायिक रुपमा सञ्‍चालित इलामको पहिलो अनलाइन पत्रिका हो । नयाँ बुलन्द डटकम प्रेस काउन्सिलमा सूचिकृत भई सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा १५ औं नम्बरमा भएर सञ्‍चालित अनलाइन पत्रिका (डिजिटल न्यूज पोर्टल) हो । नयाँ बुलन्द डटकम १२ वैशाख २०७४ मा सूचना तथा प्रशारण दर्ता भएको थियो ।

२२ वैशाख २०७३ बाट परिक्षणका रुपमा अनलाइन समाचार सुरु गरेको नयाँ बुलन्द डटकम नेपाल सरकारद्वारा जारी अनलाइन सञ्‍चारमाध्यम सञ्‍चालन निर्देशिका, २०७३ लागू भएपछि १२ वैशाख २०७४ मा आधिकारिक रुपमा दर्ता भएको हो ।

बुलन्द आवाज मिडिया प्राइभेट लिमिटेड भने कम्पनी रजिस्ट्रार कार्यालयमा १३ चैत २०७३ मा नै दर्ता भएको थियो । कम्पनी रजिस्ट्रारबाट प्रमाणपत्र प्राप्त भएपछि आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय इलामबाट स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र लिएर अनलाइन दर्ताका लागि सूचना तथा प्रशारण विभागमा १५ चैत २०७३ मा नै आवेदन दिएको थियो ।

आवश्यक सबै प्रक्रिया पूरा भएपछि सूचना तथा प्रशारण विभागले नयाँ बुलन्द डटकमलाई १२ वैशाख २०७४ मा अनलाइन सञ्‍चारमाध्यम दर्ताको प्रमाणपत्र प्रदान उपलब्ध गराएको थियो । (प्रा.) लि. ले पछिल्लो समय युट्युब च्यानल नयाँ बुलन्द टिभी समेत संचालनमा ल्याएको छ ।

संघीय प्रेस फोरम प्रदेश १ को अध्यक्षमा वेघा, ७ बुँदे दमक घोषणापत्र जारी

यस्तै संघीय प्रेस फोरम नेपाल प्रदेश १ को अध्यक्षमा फिपराज वेघा चयन भएका छन् । संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक भेलाले वेघाको अध्यक्षतामा १९ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेको हो ।

प्रदेश समितिका उपाध्यक्षद्वयमा विना डी तामाङ र राम योङहाङ, मुख्यसचिवमा अजितकुमार धिमाल, सचिवद्वयमा ऋषि राई र सुसन राई तथा कोषाध्यक्षमा मनकुमारी राई चयन भएका छन् ।

सदस्यहरुमा विनुमाया राई, सूर्य गुरुङ, राम लावती, दिवा चेम्जोङ, सूर्यनारायण यादव, मुकेसकुमार यादव, निमा पोङसुवा, देशराज नेम्वाङ, ज्ञानु केदेम लिम्बु, अशोक गुरुङ, युद्धबहादुर वोहोरा र गुमानसिंह लिङदेन चयन भएका छन् ।

भेला संघीय प्रेस फोरम नेपालका उपमहासचिव तथा प्रदेश १ का इन्चार्ज कमन देवानको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य प्रविण चाम्लिङको प्रमुख आतिथ्यतामा भएको थियो ।

यस्तै भेलाले ७ बुँदे दमक घोषणा पत्र समेत जारी गरेको छ । मुलुकको वर्तमान परिस्थिती, प्रेस स्वतन्त्रताको अवस्था, राज्यले अघि सारेको नीति लगायतलाई ध्यानमा राख्दै भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको हो ।

यस्तो छ घोषणापत्र  :

१. संघ, प्रदेश र स्थानीय सरकारद्वारा समावेशी संचार नीति तर्जुमा गरी लागू गरियोस् ।

२. तीनै तहको सरकारले समानुपातिक सूचना/विज्ञापन प्रणाली लागू गरियोस् ।

३. हरेक तहको सरकारले योजना निर्माण गर्दा प्रक्रियागत रुपमा सूचना प्रबद्र्धनका क्षेत्रलाई विशेष प्राथमिकता साथ समावेश गरियोस् ।

४. नेपाल पत्रकार महासंघको कार्यसमिति पूर्ण समानुपातिक, समावेशी बनाइयोस् ।

५. नेपाल पत्रकार महासंघको साधारण सदस्यता वितरणमा हुने विभेद अन्त्य गरियोस् ।

६. श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गरियोस् । साथै, श्रमजिवि पत्रकारको पेशागत हकहित, सुरक्षा र संरक्षणमा राज्य पूर्ण रुपमा जिम्मेवारी बनोस् ।

७. पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरियोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार