बिचौलियाको हालिमुहाली उस्तै

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन आवेदनको व्यवस्था गरेपनि बिचौलियाको हालिमुहाली उस्तै छ ।

अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिँदा फाराम भर्न र लाइसेन्स पाउनका लागि बिचौलियासम्म पुग्न बाध्य हुँदा उनीहरुको चलखेल कम नभएको हो ।

यातायात व्यवस्था विभागले साताको चार दिन निश्चित समय र कोटाका आधारमा आवेदन दिने व्यवस्था गर्दा लाइसेन्सको अनलाइन आवेदन दिने सेवाग्राही समस्यामा परेका हुन् । यसको फाइदा भने बिचौलियाले उठाएका छन् ।

इन्टरनेट उपलब्ध नहुने तथा समयलगायतका कारण निःशुल्करूपमा दिन सकिने आवेदनमासमेत सेवाग्राहीले बिचौलियालाई १५० देखि ५०० रुपैयाँसम्म बुझाउने गरेका छन् ।

अनलाइन फारम भर्दा ‘सर्भर’ डाउन भएको जानकारीमात्र आउने कारण हैरान भएर बिचौलियाहरुको शरणमा पुग्न बाध्य भएको सेवाग्राही बताउँछन् ।

बिचौलियाहरुले लाइसेन्स लिने प्रक्रियाकाक्रममा रकम, रक्तसमूह र आवश्यक कागजात लिने र आवेदन खुल्नासाथै एकैपटक आवेदन दर्ता गर्ने गर्छन् । यसका लागि ५०० रुपैयाँसम्म तिनुपर्छ ।

यातायात व्यवस्था कार्यालयको बाहिर यस्ता अनलाइन फारम भर्ने बिचौलियाहरुले आफ्नै सम्पर्क कार्यालय खोलेर बसेका छन् ।

कर्मचारीसँग साँठगाठ रहेका उनीहरुले सेवाग्राहीसँग मोटो रकम लिएर सजिलै लाइसेन्स उपलब्ध गराउँछन् ।

यता, विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय भने बिचौलियाले ठगेको गुनासो सुन्ने र कारबाही गर्न उपभोक्ता संरक्षण विभागको व्यवस्था गरेको बताउँछन् ।

यातायात व्यवस्था विभागमा लाइसेन्सका लागि पुग्नेहरु बिचौलियाको मारमा परिरहँदा पनि उनीलाई नियन्त्रणमा लिइ कारबाही गर्ने काम भने प्रभावकारी बन्न सकेको छैन ।

बढ्दो गुनासो थामथुप पार्ने प्रयासमा केहीलाई कारबाही गरेकोजस्तो देखिएपनि यथार्थमा उनीहरुको चलखेलमा भने कुनै कमी आएको छैन । सेवाग्राहीको समस्या ज्यूँका त्यूँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार