राष्ट्रिय ध्वजावाहक पानीजहाज छिट्टै चल्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानीजहाज कार्यालय’को उद्घाटन गरेका छन् ।

बिहीबार ललितपुरको एकान्तकुनामा कार्यालयको उद्घाटन गर्दै उनले मुलुक पानीजहाजको युगमा प्रवेश गरेकाले राष्ट्रिय ध्वजावाहक पानीजहाज छिट्टै चल्ने बताए ।

पानीजहाज कार्यालय जागिर खुवाउनका लागि नभइ विकासको गति बढाउन खोलिएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पानीजहाजको टिकट पाउन केही महिना पर्खन आग्रह गर्दै छिट्टै टिकट पनि पाइने विश्वास दिलाए ।

उनले नेपालका धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको औंल्याए ।

अहिले रेलभन्दा पनि जलयातायात चाँडो सन्चालनमा आउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।

उनले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इन्जिनियरहरुलाई सुझाव दिए ।

प्रधानमन्त्री ओलीले केही दिनभित्र काठमाडौंबाट कोसी नदीसम्म सामान लगेर त्यहाँबाट पानीजहाजमार्फत् ओसार्नसकिने बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झन्डा राखेर पानीजहाज कुदाउने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत् स्थापना भएको पानीजहाज कार्यालयको नेतृत्व प्राविधिकतर्फका सहसचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीको दरबन्दी रहेको छ ।

सोही कार्यालयले पानीजहाज सन्चालनसम्बन्धी काम अघि बढाउने सो मन्त्रालयले जनाएको छ ।

भारतले गन्डक नदी हुँदै नेपाली सीमासम्म पानीजहाज आउनेगरी नयाँ परियोजनाको काम थालेको छ ।

भारतका सिपिङ, जलस्रोत र नदी विकासमन्त्री नितिन गडकरीले पटनाको गाईघाटबाट बगाहासम्म पानीजहाज ल्याउने परियोजनाको गत सोमबार शिलान्यास गरेका थिए ।

भारतको सिपिङ मन्त्रालयले हल्दिया बन्दरगाहबाट नेपाली सीमासम्म पानीजहाजमा सामान ढुवानी गर्न यो परियोजना बनाउन लागिएको जनाएको छ ।

कोसी र गन्डकीमा पानीजहाज चलाउनेबारे थप अध्ययन र छलफल गर्न भारतीय प्राविधिकको टोली काठमाडौं आउँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार