काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट सरकार विरुद्ध आन्दोलनको घोषणा गर्ने भएको छ । सरकारले संसदबाट बहुमतको दम्भमा चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रतिपक्षी कांग्रेस आधिकारिक रुपमै केन्द्रीय कार्यसमिति बैठकबाट आन्दोलनको घोषणा गर्ने भएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्षले कांग्रेसको अहिलेसम्मको शालिनतालाई कमजोरी ठानेकाले आगामी केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनको स्वरुप तय गरेर घोषणा गर्ने संकेत गरे ।
‘‘कांग्रेसको धैर्यताले छुनु पर्ने उचाई छोयो, संयमताले शिखर नाघ्यो । सरकारले कांग्ेसको शालिनतालाई नबुझेको हाम्रो निष्कर्ष हो,’’ उनले भने, ‘‘आगामी केन्द्रीय कार्यसमिति बैठकले शालिनतालाई निरन्तरता तर हाम्रो शालिनतालाई कमजोरी ठानेकाले आवश्यक आन्दोलनका लागि निर्णय गर्छ ।’’
सरकार पछिल्ला विभिन्न गतिविधि, लोकतान्त्रिक मूल्यमान्यता विपरितका निर्णयको विरोधमा कांग्रेसले आन्दोलनको सुरुवात गरे मुलुक ठप्प नै हुने गरी आन्दोलन गर्ने प्रवक्ता शर्माको भनाइ थियो । ‘‘हामी केन्द्र सरकार र ७ वटा प्रदेशमा मात्रै प्रतिपक्षी छैनौं । हामी वडा–वडामा पनि प्रतिपक्षीकै भूमिकामा छौं । हाम्रो एक अपिलले मुलुक नै ठप्प हुन्छ’’ उनले भने ।
प्रवक्ता शर्माले कांग्रेसका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल नामेट गर्ने दुष्प्रयास अघि बढाएर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको दाबी गरेका छन् । सरकारले संसदमा देखाएको प्रस्तुतिले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले आफूभित्र जतनले राखेको अधिनायकवादी आकांक्षालाई खुला ढंगले उजागर गरेको उनले टिप्पणी गरे ।
सभामुख कृष्णबहादुर महराले संसदमा खेलेको भूमिकाबाट उनले सिंगो सदनको साझा नेतृत्वको भूमिकाबाट स्वेच्छिक अवकाश लिएको सन्देश दिएको प्रवक्ता शर्माले दाबी गरे । संसदमा भएको घटनाले आमनागरिकमा प्रधानमन्त्रीप्रतिको विश्वासमा गमभीर ढंगले ह्रास आएको उनको भनाइ थियो । ‘‘प्रधानमन्त्री स्वयम्को अग्रसरतामा डा. केसीसँग भएको समझौता कार्यान्यवयन नगर्न उहाँ लगायत सरकार, ने क पा र सभामुखसमेतको संगठित प्रयत्नको परिणाम स्वरुप प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा गम्भीर ढंगले ह्रास आएको छ’’ शर्माले पत्रकार सम्मेलनमा भने ।