देखिएन स्ववियुमा यसपटक कुनै रौनक

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन एक महिना बाँकी हुँदासमेत विद्यार्थी संगठनबीच अझै निर्वाचन हुने वा नहुने भन्नेमा अन्योल छ ।

१० वर्षपछि हुन लागेको यो निर्वाचनले विद्यार्थी संगठनमा जुन उत्साह देखिनुपर्ने हो, त्यो देखिएको छैन ।

विद्यार्थी वृत्तमामात्र हैन, राष्ट्रियस्तरमै महत्वका साथ हेरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दासमेत यसपटक कुनै रौनक देखिएको छैन ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म समय तालिका भने सार्वजनिक गरेको छैन ।

कुनैबेला आन्दोलनको संवाहककारुपमा हेरिने गरिएको स्वतन्त्र विद्यार्थी युनियनको भूमिका पछिल्लो समय निस्कृय देखिन थालेको छ ।

नेपाल विद्यार्थी संघ पनि आन्तरिक किचलोको कारण आफैं थलिएको छ भने अनेरास्ववियु र क्रान्तिकारीको एकीकरण नहुँदासमेत कम्युनिस्ट पार्टीसमर्थित विद्यार्थी संगठनबीच पनि लफडा नै छ ।

नेविसंघले पटक–पटक महाधिवेशनको तिथि घोषणा गर्दासमेत महाधिवेशन गर्न नसकेर आफैं विवादको भूमरीमा परेको छ ।

अनेरास्ववियु र क्रान्तिकारीबीच नेतृत्व कसले हत्याउने भन्ने विषयमा टकराव बढ्दा एकीकरणकै पिरलोमा पिल्सिएको छ ।

नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले आपसी झगडा र गुटबन्दीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कुनै फरक नपर्ने बताए ।

यता, अनेरास्ववियु र क्रान्तिकारीबीचको एकताले पूर्णता नपाउँदा स्ववियु निर्वाचन प्रभावित हुने आंशका अनेरास्ववियुभित्रै छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले भने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाए ।

उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक माफिया र शिक्षामा बेथिति बढ्दै गएकाले स्ववियु निर्वाचन समयमै गर्न आफ्नो संगठन प्रतिबद्ध रहेको बताए ।

प्रत्येक २/२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि हुन सकेको छैन । यो विद्यार्थीहरुकै लागि दुःखको कुरा हो । दुई वर्षअघि गर्ने भनिएको स्ववियु निर्वाचन पनि सफल हुन सकेन ।

तर, यसपटक भने स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्न विद्यार्थी संगठनले स्थानीयस्तबाटै आन्तरिक तयारी त गरेका छन् तर, प्रभावकारी हुन सकेको छैन ।

आन्तरिक खिचातानी जे भएपनि स्ववियु निर्वाचन समयमै गर्न दुवै संगठनले सांगठनिक ऐक्यबद्धता जनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार