जनकपुर : प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि गरेको हातपातको विरोध गर्दै निजामती कर्मचारीसम्बद्ध संगठनहरुले मुख्यमन्त्री र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन र अन्य संगठनहरुले सोमबार संयुक्तरुपमा मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कारबाहीका लागि २४ घन्टाको ‘अल्टिमेटम’ दिएका हुन् ।
छानबिन समिति गठन
यसैबीच, सचिव झामाथि भएको कुटपिटको छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा रहेको समितिमा प्रदेशका प्रमुखसचिव दीपक सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुँयाल सदस्य रहेका छन् । समितिलाई ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन भनिएको छ ।
समितिका संयोजक यादवले घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् ।
सचिव झा अस्पताल भर्ना
मन्त्रीको कुटाइबाट घाइते बनेका सचिव झा भने अस्पताल भर्ना भएका छन् । आइतबार राति नै उनी जनकपुरस्थित केयर नर्सिङहोममा भर्ना भएका हुन् ।
आफूले भनेअनुकूलको एनजीओमा कार्यक्रम नपार्दा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आइतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिटगरेका थिए ।