लगानी सम्मेलन अभिनन्दनका कारण ओझेलमा

घोषणापत्र आएन, खर्चिलो भएको भन्दै आलोचना

  विजयशेखर भट्टराई
0 Shares

इलाम : गत शुक्रवार आयोजना भएको ‘इलाम लगानी प्रवर्द्धन सम्मेलन २०७५’ को चर्चा सेलाएको छैन । सम्मेलन प्रधानमन्त्री केपी ओली र उनको अभिनन्दनका कारण ओझेलमा परेको र खास उपलब्धि हुन नपाएको भन्दै आलोचना भइरहेको छ ।

प्रमुख अतिथिका रुपमा निम्त्याइएका प्रधानमन्त्री ओली पाँचथरको रविमा सडक शिलान्यास गरेर करीब ३ बजे कार्यक्रम स्थल गौतमबुद्ध सभाहल पुगेका थिए ।

कार्यक्रमको उद्घाटन र प्रधानमन्त्रीको भाषण सुनेर करीब साढे ४ बजे सम्मेलनका सहभागीले बाटो तताएका थिए । सम्मेलनमा सहभागी प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले समेत प्रधानमन्त्रीको व्यस्तताका कारण बोल्ने समय पाएनन् ।

घोषणापत्र आएन, खर्चिलो भएको भन्दै आलोचना
लगानी सम्मेलनका क्रममा लगानी प्रवर्द्धनका लागि स्थानीय तहमा भएका नीतिगत कमजोरी भएमा त्यसलाई सुधार गर्ने प्रतिवद्धता जनाउने र इलाम लगानी घोषणापत्र जारी गर्ने भनिएकोमा त्यसो गरिएन । लगानी भित्र्याउन आयोजना गरिएको कार्यक्रममा अनावश्यक खर्च बढी भएको आलोचना भइरहेको छ ।

आयोजक नगरपालिकाले लगानी सम्मेलन तयारी र सम्मेलनका क्रममा कति खर्च भयो भन्ने विवरण सार्वजनिक गरेको छैन । मञ्च साजसज्जा र व्यवस्थापनमा मात्र ६ लाखभन्दा बढी खर्च भएको नगरपालिका श्रोतले बताएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नै सम्मेलनमा प्रतिपक्षि दल कांग्रेस सहभागी भएन । कांग्रेसले विज्ञप्ति जारी गर्दै सम्मेलनमा प्रधानमन्त्रीको अभिनन्दन गरेर निहित राजनीतिक स्वार्थ पुरा गर्न खोजिएको आरोप लगाएको थियो । नेपाली कांग्रेसका जिल्ला कार्य समिति सभापति हिमालय कर्माचार्यले लगानी सम्मेलनलाई ‘हात्ति आयो हात्ति आयो फुस्सा’को संज्ञा दिएका छन् ।

लगानीकर्ताले प्रतिवद्धता जनाइहाल्ने होइनः आयोजक
सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणीले झस्किएको आयोजक पक्षले भने बुझाइमा समस्या रहेको दाबी गरेको छ । ‘जनअपेक्षा अनुरुप सम्मेलनमा लगानीकर्ताले भाषण गरेर प्रतिवद्धता जनाइहाल्ने होइन,’ आयोजक सदस्य कृष्ण शाहले भने, ‘प्रधानमन्त्रीको कार्यक्रमले जति गर्न खोजिएको त्यति पाइएन, तर लगानीकर्ताको रेस्पोन्स राम्रो पाएका छौँ ।’ उनले अन्तरक्रिया कार्यक्रम हुन नपाएपनि विगतमा इलामको लगानीको विषयमा काठमाडौं र विराटनगरमा गहन छलफल गरिएको र पर्याप्त अन्तरक्रिया गरिएको बताए ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले सम्मेलनमा लगानीकर्ताले कुनै दुःख नभएको र सहभागिता जनाएपछि कार्यक्रम सफल भएको भन्दै आफूलाई बधाई दिएको बताए । ‘अझै एकाध घण्टा छलफल हुन पाएको भए झनै राम्रो हुने थियो,’ उनले भने ।

हेलिकप्टर चार्टर गरेर इलाम पुगे लगानीकर्ता
जिल्लाको कृषि, पर्यटन, स्वास्थ्य, र शिक्षाको क्षेत्रमा वार्षिक रू. तीन अर्बको लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनमा उद्योगी व्यवसायीको उपस्थिति भने राम्रो थियो । काठमाडौंबाट केही लगानीकर्ता हेलिकोप्टर चार्टर गरेर इलाम पुगेका थिए । यस्तै विराटनगर र धरानबाट उद्योगी व्यवसायीहरु आएका थिए । जिल्लामा लगानी गरेका चिया उद्यमी र जलविद्युत् क्षेत्रमा लगानी गरेका उद्यमीको भने न्यून उपस्थिति देखियो ।

कार्यक्रममा बोल्ने मौका पाएका चण्डी ढकालले निजी जग्गाको स्वामित्वको बारेमा गलत चर्चा गरिएको र निजी स्कूल बन्द गर्ने भन्ने चर्चाले व्यवसायीलाई चिन्तित बनाएको बताए । जवाफमा प्रधानमन्त्री ओलीले निजी जग्गाको कुरा त्यत्ति ठूलो नभएको र निजी विद्यालय पनि बन्द नहुने बताएका थिए । प्रधानमन्त्री ओलीले पुरानो जमाना बदलिएको र नयाँ परिस्थितिमा ढुक्क भएर इलाममा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका थिए । ‘गयो इलाम खायो बम्बैसन, लगानी गरेर कमायो धन,’ ठट्यौली पारामा उनले भने ।

टुडिखेलमा गर्ने भनिएको उद्घाटन गौतमबुद्ध हलमा
प्रधानमन्त्रीको अभिनन्दनको विषयले शुरुमै आलोचना खेपेको आयोजकले सम्मेलनको उद्घाटन टुडिखेलमा गर्ने भन्दै व्यापक प्रचार गरेको थियो । सोही समयमा जारी मेची क्षेत्र पर्यटन महोत्सवका स्टल र व्यवसायीलाई सम्मेलनका दिन स्टलमा आफ्नो उत्पादन प्रदर्शन गर्न आग्रह गरिएको थियो । तर उनीहरुलाई थाहै नदिई सुरक्षाका कारण भन्दै गौतमबुद्ध सभाहलमा सम्मेलन गरियो । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन सक्ने भन्दै सम्मेलन स्थलमा सुरक्षा कडा पारिएको थियो भने पत्रकारलाई फोटो खिच्न समेत कडाइ गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार