इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को प्रथम ऐतिहासिक प्रादेशिक भेला मंगलबार इलामको माङसेबुङमा सम्पन्न भएको छ ।
माङसेबुङ गाउँपालिका ५ स्थित रेडियो माङसेबुङको सभाहलमा भएको भेलाले दिपीन राईको संयोजकत्वमा १५ सदस्यीय प्रादेशिक तदर्थ समिति गठन भएको छ ।
फोनिजको प्रादेशिक तदर्थ समिति गठन गर्ने प्रयोजनार्थ आयोजित प्रादेशिक भेला सम्बन्धी कार्यविधि-२०७५ बमोजिम प्रदेश इन्चार्जको संयोजकत्वमा प्रादेशिक तदर्थ समिति गठन भएको हो । समितिका सदस्यहरु सबै जिल्लाका अध्यक्षहरु रहेका छन् ।
सदस्यहरुमा राम योङहाङ (इलाम), नेम्वाङ (झापा), गणेश साम्पाङ (पाँचथर), दिनेश लिङ्खिम (ताप्लेजुङ), दिनेश सुब्बा (मोरङ), धिरेन्द्र चौधरी (सुनसरी), सन्तवीर लामा (धनकुटा), टिआर सेनेहाङ (तेह्रथुम), राजन राई (भोजपुर), शुभराज राई (उदयपुर), कुम्भराज राई (ओखलढुङ्ग), नवीन गुरुङ (संखुवासभा) लगायत रहेका छन् ।
सो निर्णय संघीय समितिको बैठकले अनुमोदन गर्नेछ । अनुमोदन भएको मितिलाई नै प्रादेशिक तदर्थ समिति गठन भएको मिति मानिनेछ । सोही बमोजिम प्रदेशहरुले आफ्नो स्थापना दिवस मनाउनेछन् ।
तदर्थ समिति गठनको निर्णय संघीय समितिबाट स्वीकृत हुनासाथ प्रदेश तदर्थ समितिहरु प्रादेशिक महाधिवेशनको तयारीमा लाग्नेछन् । प्रदेश भेलाको निर्णय संघीय समितिको बैठकले अनुमोदन गर्नेछ । अनुमोदन भएको मितिलाई नै प्रादेशिक तदर्थ समिति गठन भएको मिति मानिनेछ । सोही बमोजिम प्रदेशहरुले आफ्नो स्थापना दिवस मनाउनेछन् ।
तदर्थ समिति गठनको निर्णय संघीय समितिबाट स्वीकृत हुनासाथ प्रदेश तदर्थ समितिहरु प्रादेशिक महाधिवेशनको तयारीमा लाग्नेछन् । तदर्थ समिति गठन भएको तीन महिनाभित्र प्रादेशिक महाधिवेशन गरिसक्नुपर्ने छ ।
‘फोनिज र समावेशी मिडिया’ सम्बन्धी अन्तरक्रिया
यसैबीच सो भेलाको उद्घाटनका अवसरमा फोनिज र समावेशी मिडिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिएको छ ।
जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय संघसंस्थाहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा फोनिजको स्थापना, फोनिजले गर्दै आएको गतिविधि, फोनिज र स्थानीय सरकारबीचको सम्बन्ध लगायतका विषयमा फोनिजका संघीय समिति सदस्य कमन देवानले जानकारी दिएका थिए ।
प्रदेश इन्चार्ज दिपीन राईको अध्यक्षता र संघीय समिति सचिव कमन देवानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, संघीय समाजवादी फोरम माङसुबङ गाउँपालिका संयोजक किसान खजुम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मंचका अध्यक्ष साम्जिरी शेर्मा, प्रस्तावित आत्मानन्द सेइङ बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख होमबहादुर लिङदेन, सहायक क्याम्पस प्रमुख आङबुहाङ अबोध अविरल चुरे संरक्षण अनुसन्धान केन्द्र माङसेबुङका अध्यक्ष नन्दकुमार नेम्बाङलगायतले मन्तव्य राखेका थिए ।
छ संस्थालाई सम्मान
यस्तै फोनिजको सो कार्यक्रममा सहयोग गर्ने विभिन्न छ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको छ । फोनिज प्रदेशका तर्फबाट माङसेबुङ गाउँपालिका, माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, रेडियो माङसेबुङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो माङसेबुङ, फोनिज इलाम जिल्ला शाखा र आङबुहाङ अवोध अविरलाई सम्मान गरिएको हो ।
उनीहरुलाई फोनिज संघीय कार्यसमिति सचिव कमन देवान र प्रदेश १ का इन्चार्ज दिपीन राईले सम्मानपत्र सहित सम्मान गरेका थिए ।
रेडियो माङसेबुङद्वारा स्वागत
कार्यक्रमका सहभागी विभिन्न जिल्लाबाट माङसेबुङ पुगेका आदिवासी पत्रकारहरुलाई रेडियो माङसेबुङले स्वागत र सम्मान गरेको छ । उनीहरुले खदा र फूलमालासहित स्वागत गरेका थिए ।