सेनाको कारण रोकियो माईभ्याली गोल्डकप ! (भिडियो सहित)

प्रतियोगिता संचालनमा रोक लगाएको छैन : नेपाली सेना

  नयाँ बुलन्द
0 Shares

पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ । तस्वीर : नयाँ बुलन्द

इलाम : नेपालकै चर्चित फूटबल प्रतियोगिता माईभ्याली गोल्डकपको पाँचौ संस्करण संचालन नहुने भएको छ । आगामी २३ फागुनदेखि २ चैतसम्मका लागि तय गरिएको गोल्डकप नेपाली सेनाको कारण स्थगन गर्नु परेको आयोजकले जनाएको छ ।

माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरी  प्रतियोगित संचालन हुँदै आएको ठूलो टुँडीखेलमा नेपाली सेनाले काँडेतारले तारबार गरेपछि प्रतियोगिता गराउन नसकिने अवस्था आएको जनाएको छ । सेनाले आफ्नो जग्गा सुरक्षित गर्न भन्दै खेलमैदानको माथिल्लो भागमा काँडेतारले घेराबारा गरेको छ ।

नेपाली सेनाले गरेको काँडेतारको घेराबारा । तस्वीर : नयाँ बुलन्द

नेपाली सेनाको स्वामित्वमा रहेको टुडिँखेलमा प्रतियोगिता संचालनको लागि तयारी गर्नु पर्ने पुर्वाधार व्यवस्थापन गर्न नपाएपछि प्रतियोगिता तोकिएको अवधिमा गर्न नसकिएको माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । इलाम जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबले खेल मैदान व्यवस्थापन गर्न इलाम गढिथुम्कास्थित पशुपतिप्रसाद गणसँग बारम्बार वार्ता गर्दा समेत नेपाली सेनाबाट असहयोग भएपछी प्रतियोगिता प्रभावित भएको हो ।

‘वार्तामा राम्रै कुरा हुन्छ । तपाइहरुकै हो । हामी सहयोग गर्छौं भन्छन् । तर भोलिपल्टदेखि उही व्यवहार सुरु हुन्छ’ अध्यक्ष चेम्जोङले भने, ‘राणा, पञ्चायत तथा बहुदल कालमा समेत विभिन्न प्रतियोगिता निर्वाध संचालन गर्ने वातावरण रहेको टुडिँखेलमा अहिले आएर प्रतियोगिता संचालन गर्न नदिनु सिङ्गो जिल्लाबासीका लागि दुखको विषय हो ।’ विगतका वर्षहरुमा पुर्वाञ्चलको प्रतिष्ठित ज्ञानी शिल्ड, कमल शिल्ड, भुकम्प पिडित स्मृति जस्ता प्रतियोगिता संचालन गरेर ख्याति कमाएको इलामे फुटबलको इतिहास अहिलेको इलामस्थित नेपाली सेनाको नेतृत्वको व्यवहारले धरापमा परेको अध्यक्ष चेम्जोङले बताए ।

अध्यक्ष चम्जोङले नेपाली सेनाको स्वामित्वमा रहेको टुँडीखेल चाँडै स्थानीय सरकारको मातहतमा ल्याउन नेपार सरकारसँग माग समेत गरे । ‘सेनाको स्वामित्वमा रहेको टुँडिखेल चाँडै नेपाल सरकारले स्थानीय सरकारको मातहतमा ल्याओस् । नत्र इलामबासीले विकल्प खोज्न बाध्य हुनेछ’ अध्यक्ष चेम्जोङले भने ।

पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै अखिल नेपाल फूटबल संघका केन्द्रीय सदस्य निरोज खड्गी । तस्वीर : नयाँ बुलन्द

अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले पशुपतिप्रसाद गणका गणपति असिमदिप गुरुङसँग बारम्बार वार्ता गर्दा मुखले ठिक्क पार्ने तर व्यवहार भने टुडिँखेलमा कसैलाई प्रवेश गर्न नदिने, खेलाडिहरुलाई अभ्याससम्म गर्न नदिने जस्ता निरंकुश व्यवहार गर्ने गरेको आरोप लगाए । काँडेतार लगाइएकोक्षेत्रमा दर्शकहरु बस्नुपर्ने र मान्छे हिंड्ने मुख्य बाटो पनि त्यही भएकाले चोटपटकको सम्भावना बढी भएकाले प्रतियोगिता आयोजना गर्न नसकिएको खड्गीले बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त प्रतियोगिता संचालन गर्नको लागि अनुमति समेत प्रदान गरिसकेको थियो ।

प्रतियोगिताको निरन्तरता कामयमै रहने

पाँचौ संस्करणको माईभ्याली गोल्डकप तोकिएको समयमा संचालन गर्न नसकेपनि गोल्डकपलर् निरन्तरता भने पाउने आइजकहरुको दावी छ । माइभ्याली फूटबल क्लब र जिल्ला फूटबल संघले विकल्प खोजेर भएपनि प्रतियोगिताको निरन्तरता दिने जनाएको छ ।

भविष्यमा फुटबललाई बुझ्ने नेपाली सेनाको नेतृत्व आउनेमा आयोजक ढुक्क छ । यदि त्यसो हुन नसके विकल्प खोजेरै भएपनि प्रतियोगिता निरन्तरता दिने माइभ्याली फूटबल क्लबका अध्यक्ष चेम्जोङले बताए ।

स्थानीय आक्रोशित

सदरमुकामको बजर नजिकै रहेको ठूलो टुडिँखेलमा प्रवेश गर्न नेपाली सेनाले रोक लगाएकोमा स्थानीयबासी आक्रोसित बनेका छन् । इलाम सदरमुकाममा खुल्ला स्थानको अभाव भएको हुँदा बिहान बेलुका घुमफिर गर्ने गरेको स्थान प्रतिबन्धित हुँदा बुढापाका व्यक्तिहरु, विभिन्न खेलहरु अभ्यास गरेर जिल्लाको नाम राख्ने खेलाडीहरु सबै भन्दा बढी मर्कामा परेका छन् । आफ्नो क्षेत्रमा रहेको टुडिँखेलमा जिल्लाकै प्रतिष्ठित प्रतियोगिता संचालन गर्ने वातावरण नहुँदा सबै सर्वसाधारणहरुमा निराशा भएको पुर्व फुटबल खेलाडी महेश खड्काले बताए ।

पूर्वी पहाडको सर्वाधिक राशीको प्रतियोगिता

माइभ्याली गोल्डकप पूर्वी पहाडी क्षेत्रमा संचालन हुने प्रतियोगितामध्ये सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिता हो । नेपालका ३ विभागीय टिमसहित ‘ए’ डिभिजनका फुटबल क्लबको सहभागिता हुँदै आएको माईभ्याली गोल्डकप नेपालकै चर्चित फूटबल प्रतियोगिता हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष मोफसलको प्रतियोगिता गर्नेमध्ये आयोजक माइभ्यालीलाई देशभरको उत्कृष्ठ तीनमा राखेको थियो ।

प्रतियोगिता संचालनमा रोक लगाएको छैन : नेपाली सेना

यता नेपाली सेनाले भने खेलमैदानको संरक्षण गरेको बताएको छ । इलामस्थित पशुपतिप्रसाद गणका प्रमुख असिमद्धीप गुरुङले तारबारले अझ खेलमैदानको संरक्षण हुने भएकाले यसलाई सकरात्मक सोच्नुपर्ने बताए । उनले माथिको निर्देशनअनुसार तारजाली लगाएको बताउँदै प्रतियोगिता संचालनमा भने रोक नलगाएको दावी गरे । ‘खेलमैदान संरक्षणको काम मात्र गरेका हौं । प्रतियोगिता रोक्ने काम गर्न खोजेका छैनौं’ गुरुङले टेलिफोन सम्पर्कमा भने, ‘आफ्नो जमिनको सुरक्षा गर्न माथिबाट निर्देशन आएकाले तारजाली लगाएका हौं ।’

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार