घरलौरी चन्दा संकलन गरेर खेलमैदान निर्माणमा जुट्दै स्थानीय

इलाम : इलामको फाकफोकथुम-४ लिम्बूगाउँका बासिन्दा खेलमैदान निर्माणमा जुटेका छन् । खेलमैदान निर्माणका लागि कतै सरकारी निकायबाट सहयोग नपाएपछि उनीहरु घरलौरी चन्दा संकलन गरेर खेलमैदान निर्माणमा जुटेका हुन् ।

खेलमैदानको अभाव परपूर्ति गर्न स्थानीय फुङवा युवा समूहको नेतृत्वमा ५० घरबाट सहयोग संकलन गरिएको छ । उनीहरुबाट गच्छेअनुसार १ हजारदेखि २० हजार रुपैयाँसम्म रकम संकलन गरिएको समूहका सचिव दीफक योङहाङले बताए । त्यतिमात्र होइन, खेलमैदान निर्माण सहयोगार्थ सिङ्गो लिम्बूगाउँबासी देउसीभैलोमा समेत जुटेका थिए । देउसीभैलोबाट ४७ हजार रुपैयाँ सकलन भएको थियो ।

सो रकमबाट अहले लिम्बूगाउँमा ६ रोपनी जग्गा खरिद गरी ‘चासोक तङनाम खेलमैदान’ निर्माण सुरु गरिएको छ । ६ लाख ७२ हजार रुपैयाँमा जग्गा खरिद गरी ४ लाख रुपैयाँको अनुमानित लागतमा खेलमैदान निर्माण सुरु गरिएको सचिव योङहाङले जानकारी दिए ।

‘खेलमैदान निर्माणका लागि हामीले सम्बन्धित निकायमा धेरैपटक माग राख्यौं’ सचिव योङहाङले भने, ‘कही कतै सरकारी स्तरबाट सहयोग प्राप्त नभएपछि आफैंले रकम संकलन गरेर खेलमैदान निर्माणमा जुटेका हौं ।’ खेलमैदान निर्माणका लागि स्थानीय समाजसेवीहरुबाट भने स्वेच्छिक सहयोग प्राप्त भइरहेको उनले बताए ।

त्यस स्थानमा विगत ११ वर्षदेखि किरातीहरुको महान् चाड चासोक तङनामको अवसरमा मंसिर २५ देखि २७ सम्म चासोक तङनाम मेला लाग्दै आएको छ । मेलामा आयोजना हुने खेलकुदका कार्यक्रमका लागि मैदानको अभाव रहेकाले आफूहरु त्यसको परिपूर्तिमा लागेको योङहाङ बताउँछन् । चासोक मेलालाई लक्षित गरी सोही स्थानमा नै खेलमैदान निर्माण हुने भएको खेलमैदानको नाम पनि ‘चासोक तङनाम खेलमैदान’ राखिएको उनको भनाइ छ ।

यसैबीच मेलाको अवसरमा सो खेलमैदानमा यसैवर्षदेखि खुला नकआएट फूटबल प्रतियोगित संचालनको तयारी समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार