माङसेबुङमा वृद्धाश्रम बन्ने

  नयाँ बुलन्द
7 Shares


माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका–२ इभाङमा एक करोड रूपैयाँको लागतमा सुविधासम्पन्न बृद्धाश्रम बन्ने भएको छ । वृद्धाश्रमको हिजो एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका हुन ।

वृद्धाश्रम निर्माणका लागि स्थानीयबासिन्दा नेत्र न्यौपानेले तीन रोपनी जग्गादान दिएका छन । भवनका लागि पाँच रोपनी जग्गा आवश्यक पर्ने भएकाले अन्य दुई रोपनी जग्गा गजुरमुखी सामाजिक विकास मञ्चले खरिद गरेको छ । वृद्धाश्रम निर्माणको जिम्मा मञ्चले लिएको मञ्चका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

वृद्धाश्रम निर्माणका लागि स्थानीयबासिन्दा, गाउँपालिका, नगरपालिका, प्रदेश सरकारसँग सहयोग माग गर्ने समेत उनले बताए । “वृद्धाश्रम सञ्चालनका लागि पाँच हजार पाँच सय व्यक्तिबाट दैनिक एक रूपैयाँका दरले पाँच वर्षमा करिब एक करोड रूपैयाँ हुन्छ, यसलाई अक्षयकोष स्थापना गरी यसको व्याजबाट सञ्चालन गरिन्छ,” अध्यक्ष गौतमले भने ।

२० कोठाको सुविधासम्पन्न भवनमा १५ कोठामा दुई÷दुई जनाका दरले वृद्धवृद्धा रहने र अन्य कोठामा भान्छाघर, प्रशासन, बैठक कक्ष राखिने गजुरमुखी सामाजिक विकास मञ्चले जनाएको छ ।

वृद्धाश्रम शिलान्यास कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा, राम राना, नगेन्द्र कुमाल, जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोलगायतको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार