गजुरमुखी धाममा दर्शनार्थीहरुको घुँइचो (फोटोफिचर)

इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा दर्शन गर्नका लागि पालो पर्खदै बसेका भक्तजनहरु । फाइल  तस्वीर : राम योङहाङ

इलाम : इलामको प्रमुख धार्मिक स्थलहरुमा भक्तजनहरुको चहलपहल बढेको छ । मौसममा सुधार भएसँगै सुरु हुने विभिन्न धार्मिक मेलाका अवसरमा भक्तजनहरुको भीड बढ्न थालेको हो ।

गजुरमुखी, माईपोखरी, पाथीभरा, माङसेबुङ, माङमालुङ लगायतका क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिती सुरु भएको हो । पश्चिमी क्षेत्रको प्रमुख धार्मिक क्षेत्र मानिएको माङसेबुङ गाउँपालिकाको गजुमुखी धाममा देवीको दर्शन गर्न आउने भक्तजनको भीड ह्वात्तै बढेको छ ।

कार्तिक पूर्णिमाको अवसरमा लाग्ने बिहीबारदेखि सुरु हुने धार्मिक मेलालाई लक्षित गरी भक्तजनको घुँइचो बढेको हो । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैं गजुरमुखी मेलासँगै देवीको दर्शन समेत गर्न पाउने भएकाले यो सिजनमा गजुरमुखी आउने भक्तजनको संख्यामा उल्लेख्या बृद्धि भएको धामका पुजारी सन्तोष बस्नेतले बताए ।

यहाँ विगत दुई महिनायता नेपालको पूर्वी क्षेत्र तथा भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, आसामलगायतका क्षेत्रबाट दैनिक सयौंको संख्यामा दर्शन गर्न आउने गरेका छन् । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले दैनिक ६ सयको हाराहारीमा भक्तजनहरु आउने गरेका छन् ।

‘धाममा दर्शनका लागि दैनिक ६ सय बढिको हाराहारीमा श्रद्धालु आउने गरेका छन्’ पुजारी बस्नेतले, ‘यो क्रम जेठसम्म निरन्तर रहन्छ ।’ मंगलबार र शनिबार बढी मात्रामा भक्तजन आउने गरेको उनको भनाई छ । सामान्यतया असोजदेखि जेठसम्म भक्तजनहरुको बढी घुईंचो लाग्ने गरेको छ ।

गजुरमुखी धाममा दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण वर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा अहिले दैनिक ६ सयको हाराहारीमा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।

मेची लोकमार्गअन्र्तगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका पर्यटकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।

वर्षाको समयमा कच्ची सडक पर्यटकहरुका लागि केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन । धार्मिक पर्यटकीय सम्भावनाहरु भएपनि उचित प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा गजुरमुखीमा सोचेजति पर्यटक भित्र्याउन नसकिएको स्थानीयको भनाई छ ।

उता रोङ गाउँपालिकाको पाथीभरा मन्दिरमा पनि भक्तजनको घुईचो लागेको छ । सानी पाथिभरा देवीको रुपमा चर्चित मन्दिरमा पूर्वी नेपालका विभिन्न क्षेत्र र भारतबाट समेत दर्शन गर्न आउनेको चहलपहल बढ्दै गएको पाथीभरा संरक्षण समितिले जनाएको छ । दृष्यावलोकन र पहाडी रहनसहनका कारण यहा“को पर्यटकीय महत्व बढ्दै गएकाले पाथिभराको भौतिक पूर्वाधार विकास पनि हुन थालेको छ ।

सन्दकपुर गाउँपालिकाका माईपोखरीमा एकादशीको अवसरमा लागेको धार्र्मिक मेलामा हज्जारौंको संख्यामा भक्तजनको उपस्थिती थियो । मौसम सुधार आएसँगै यस क्षेत्रमा देश तथा विदेशका पर्यटकहरु पुग्ने गर्दछन् ।

उता माङसेबुङ गाउँपालिकाको माङसेबुङ र माङमालुङमा समेत पर्यटकहरुको आगमन सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औ जन्मोत्सव आगामी १८ मंसीरलाई लक्षित गरी किरात धर्मावलम्बी भक्तजनहरुको आगमन सुरु भएको स्थानीय सुमन लावतीले बताए । त्यस क्षेत्रमा धर्मगरुको जन्मोत्सवमा वर्सेनि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्च पदस्थ व्यक्तिहरुको आगमन हुने गर्दछ ।

यस्तै नजिकैको माङमालुङमा आकर्षक प्राकृतिक आकृतिहरु, एक औंलाले हल्लाउन सकिने विशाल ढुङ्गा (चक्रशीला) को अवलोकन गर्न, मनोरम चियाबारीसँगै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्था गरेको गुफा अवलोकन गर्न र फिकनिक खानका लागि आगन्तुकहरु माङमालुङ पुग्दछन् । त्यहाँबाट सुर्योदय र सुर्यस्तको दृश्य समेत देख्न सकिने भएकाले तराईको क्षेत्रबाट समेत आगन्तुकहरुको उपस्थिती हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार