पाँचथर : फाकफोकथुम-१ र पाँचथर फाल्गुनन्द-५ को सिमाना स्थित घुर्बिसे पञ्चमी बजारको खेलमैदानमा जारी ‘घुर्बिसे पञ्चमी गोल्ड कप’को दोस्रो संस्करण शनिबार उद्घाटन गरिएको छ।
प्रमुख अतिथि प्रतिनिधिसभाका माननीय साँसद क.बसन्तकुमार नेम्बाङले खेलको उद्घाटन पछि शुभकामना राख्दै यस खेल मैदानको स्तरोन्नतिलाई प्राथमिकता दिने बताए।
सिङ्गो मुलुकको समृद्धि हुन भौतिक पुर्वाधार मात्रैले पूर्णत दिन नसक्ने बताउँदै स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद केन्द्र सरकारको धारण रहेको उनले जनाए।
विशेष अतिथि निवर्तमान साँसद अइन्द्रसुन्दर नेम्वाङ,इलाम फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ,जिल्ला समन्वय समिति पाँचथरका उप-सभापति डिल्लीराम दुलाल,नेकपाका जिल्ला नेता राजकुमार भण्डारी,नेपाली काङ्ग्रेस जिल्ला सचिव रुपनारायण जवेगका संघीय समाजवादी फोरम जिल्ला अध्यक्ष डिएम आङ्देम्बे,संघीय लिम्बुवान मञ्च उपाध्यक्ष जितेन चेम्जोङ, राप्रपा प्रतिनिधि घनेन्द्र चेम्जोङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
प्रथम पुरस्कार एक लाख दुई हजार दुई सय २२ रुपैयाँ र दोस्रो पुरस्कार ५६ हजार छ सय ६६ रुपैयाँ,मेडल,ट्रफिक र प्रमाणपत्र रहेको आयोजक क्लवका सचिव बिनोद आङ्देम्बेले जानकारी दिए।मङ्सिर १ गते शनिबारबाट शुरु भएको खेल मङ्सिर ८ गते समापन हुने छ।पहिलो दिनको खेल हाङ पृथी सिं फुटबल क्लव फाल्गुनन्द ५ र पापोहाङ फुटबल क्लव फाल्गुनन्द- ७ बीच प्रतिस्पर्धा रहेको थियो।मौसम खराबका कारण मध्यान्तर अघि खेल स्थगित गरिएको खेलमा जम्मा २० टिमको सहभागिता रहेको आयोजक समितिका राकेश नेम्बाङले बताए।
कार्यक्रम नाम्तोक युवा क्लवका अध्यक्ष बुद्ध चेम्जोङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत मन्तव्य घुर्बिसे पञ्चमी बजार बजार व्यवस्थापन समितिका सचिव टिका सम्वाहाम्फेले राखे भने क्लब सचिव बिनोद कुमार आङ्देम्बेले संचालन गरेका थिए।