इलाम : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्ममै एकता गरिसकिने बताएका छन् ।
उनले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिए ।
आज इलाम सदरमुकाममा पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोह पछि पत्रकार सम्मेलनमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकार नै राष्ट्रिय सरकार भएको उल्लेख गरेका छन् । नेकपाकै जिम्मेवार नेताले राष्ट्रिय सरकारको आवश्यकता रहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा खनालले अहिलेको राजनीतिक संरचनामा अर्काे सर्वपक्षीय सरकार हुन नसक्ने बताए । “अहिलेको राजनीतिक संरचनानुसार प्रतिपक्ष हुनु अपरिहार्य छ । त्यसैले राष्ट्रिय सरकार बन्न सक्दैन” खनालले भने, “अहिलेको सरकारले जनअपेक्षाअनुसार काम गर्न सकिरहेको नभए पनि अहिलै यसको आलोचना तथा समालोचना गर्ने बेला भएको छैन ।”
यस्तै सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपनेता सुवास नेम्वाङले चुनावका बेला जनता सामु जे प्रतिवद्धता गरेको त्यो पुरा गरेरै छाड्ने बताएका छन् । नेम्वाङले प्रतिपक्षीले भने जस्तो ‘सरकार नसुस्ताएको’ र आफ्नै गतिमा काम गरिहेको जानकारी समेत दिएका छन् ।