म्याग्दी : म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ ।
७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना दक्षिण कोरियाली र ४ जना नेपालीको हिमपहिरोमा परेर मृत्यु भएको हो ।
किम च्याङ हो नेतृत्वको दक्षिण कोरियाली टोली चार जना नेपाली भरिया लिएर हिमाल आरोणमा गएको थियो । हिम पहिरोमा दक्षिण कोरियाका जोहोन लि, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङ–व्यल मो जियोङको मृत्यु भएको हो ।
कोरियाली पर्यटक लिएर पुगेका संखुवासभाका ३९ बर्षिय छिरिङ भोटे, २१ बर्षिय लाक्पा सोङवु भोटे र फुर्वु भोटे तथा स्थानीय गुर्जाका नेत्रबहादुर छन्त्यालको पनि मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ ।
गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्प तर्फ हिँडेको थियो । हिमाल आरोहण गर्न गएकाहरु सम्पर्कमा आउन ढिला गरेपछि स्थानीय खोजीका लागि हिजो बेसक्याम्प गएका थिए ।
त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शव फेला परेको देखेपछि उनीहरुले साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । २०६५ सालपछि सो हिमाल आरोहणका लागि सरकारले यो वर्षमात्र अनुमति दिएको थियो ।