ऐलानी जग्गा सुकुम्बासीबाट किनबेच हुँदै

बाहिरी जिल्लाबाट आउने व्यक्तिलाई बिक्री गर्ने गरेका छौँ : वडा अध्यक्ष आचार्य

चितवन : चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ स्थित टिकौलीको बस्तीमा १ वर्षदेखि  सुकुम्बासी समुदायबाट ऐलानी जग्गा किनबेच हुने गरेको पाइएको छ । सार्वजनिक जग्गा ओगटेर बसेका बस्तीका अगुवाबाटै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई जग्गा बिक्री गर्ने गरेको पाइएको हो ।

ऐलानी जग्गा किनबेच भएकै कारण सो सुकुमबासी बस्तीमा घरधुरीको संख्या बढ्दै गएको छ । नगरपालिकाले वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरुको व्यवस्थापन गर्न प्रक्रिया सुरू गर्ने तयारी गरिरहेका बेला नगरभित्रका सुकुमबासी बस्तीमा बाहिरी जिल्लाबाट आएर घर बनाउनेको संख्या बढ्दै गएको हो ।

सो बस्तीमा दुई महिनाको अवधिमा २४ घर थपिएका छन् । असारमा सुकुमबासीको विकासका लागि काम गरिरहेको लुमन्ती आवासका लागि सहयोग समूहले घरधुरी सर्वेक्षण गर्दा ९७ घरधुरी रहेको सो बस्तीमा एक महिनाअघि वडा कार्यालयले सर्वेक्षण गर्दा १२१ घरधुरी पुगेको छ ।

बाहिरी जिल्लाबाट आउने व्यक्तिलाई बिक्री गर्ने गरेका छौँ : वडा अध्यक्ष आचार्य

यता, वडा अध्यक्ष रोशन आचार्यले भने एउटा व्यक्तिले दुईदेखि तीन कठ्ठा जग्गा ओगटेर बसेको र बाहिरी जिल्लाबाट आउने व्यक्तिलाई बिक्री गर्ने गरेको बताए । ‘कसले कसलाई बिक्री गर्‍यो भन्ने थाहा पाइँदैन’, उनले भने, ‘घर बनाएर बसेपछि मात्र हामीले जानकारी पाउछौँ ।’

उनले जग्गा किनबेच रोक्न हरेक प्रयास गर्दा पनि सफल हुन नसकेको बताए । ‘लामो समयदेखि बस्तीमा बस्दै आएको व्यक्तिले घर बनाउँछ’, उनले भने, ‘घर बनाइसकेपछि घरजग्गा दुवै बिक्री हुन्छ । ऐलानी जग्गा १० धुरको एक लाख ५० हजारसम्ममा बिक्री भएको जानकारी पाएको छ । सो सुकुम्बासी बस्तीमा दोभान टोल विकास संस्था र पशु हाटबजार टोल विकास संस्था क्रियाशील रहेका छन् ।

टोल विकास संस्थाको जिम्मेवार पदाधिकारीहरुले नै ऐलानी जग्गा बिक्री गर्ने गरेको वडाध्यक्ष आचार्यले बताए । बाहिरी जिल्लाबाट आएका व्यक्तिले सस्तो मूल्यमा ऐलानी जग्गा किनेर घर बनाउने गरेको उनको भनाइ छ । सात वर्षअघि सो बस्तीमा ६६ घरधुरी थिए । यसबीचमा बस्तीमा ५५ घरधुरी थपिएका छन् । बस्तीका ४० प्रतिशत घर ऐलानी जग्गा किनबेच गरेर बनाइएको वडाध्यक्ष आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार