सिद्धान्त र विचारभन्दा फोटो प्रचार गर्ने पुँजीवादी शैली हुर्केको छ : सहअध्यक्ष श्रेष्ठ 

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सङ्घीय समाजवादी फोरम, नेपालको सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा सच्चा सङ्घीयवादी पार्टी निर्माण हुन कठिन रहेको कुरा बताएका छन् । काठमाडौंको ताम्सिपाखा, पुस्पलालपथमा भएको एक कार्यक्रममा सहअध्यक्ष उनले नेपालमा सात दशकदेखि काङ्ग्रेसले लोकतन्त्र र समाजवादको वकालत गरेको र कम्युनिष्टले पनि जनताको जनवाद र समाजवादकै वकालत गरेको बताउँदै समाजवाद र लोकतन्त्रका लागि मात्र हो भने सङ्घीय समाजवादी फोरम स्थापनाको औचित्यता नरहने उल्लेख गरे ।

नेता श्रेष्ठले आफ्नो पार्टीको स्थापना उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि सङ्घवादका सिद्धान्तहरूको कार्यान्वयन, राष्ट्रिय पहिचानको मान्यता, समानुपातिक समावेशी लोकतन्त्र, जातीय समानता र सहअस्तित्वलाई जोड दिदैं बहुराष्ट्रियतामा आधारित सङ्घीय समाजवाद स्थापनाका लागि भएको बताए ।

उनले पार्टीका नेता कार्यकर्ताहरूमा पार्टीको विचारभन्दा नेताहरूको फोटो प्रचार गर्ने पूँजीवादी शैली हुर्केको बताए । उनले स्वस्थानीका कथामा महादेवले विष पनि पिएर अरुको उद्धार गरेजस्तो नेताहरूले जनताको उद्धार गर्छ भनेर सोच्नु समाजलाई नबुझ्नु बताए । उनले ‘व्यक्तिभन्दा पार्टी र नेताभन्दा नीति ठूलो’ भन्ने अवधारणालाई समाउन सकेमात्र पार्टीभित्र सङ्घीय समाजवादी वैचारिक जग बलियो हुने भएकाले यस दिशामा लाग्नुपर्ने बताए ।

सहअध्यक्ष श्रेष्ठले अब हुने पार्टीको स्थानीय तथा प्रदेश अधिवेशनहरूमा तलैबाट निर्वाचित प्रतिनिधिहरू आउने र तिनीहरूले गुणात्मक ढङ्गले फड्को मार्न सक्ने गरी नेतृत्व चयन गर्ने बताउँदै सबै नेता कार्यकर्ताहरू स्वच्छ प्रतिस्पर्धाका लागि तयार हुनुपर्ने बताए ।

उनले तदर्थ समिति वा आयोजक समिति भने पार्टी विधान बमोजम माथिल्लो समिति वा तोकिए बमोजिमको भेलाबाट गठन हुने बताए । तदर्थ समितिको काम भनेको पार्टी विधानको धारा ६० अनुसार अधिवेशनबाट निर्वाचित समिति गठन नभएसम्मका लागि मात्र भएको बताउँदै आगामी कार्तिकभित्र स्थानीय तहको र मङ्सीरभित्र प्रदेश र भातृ सङ्गठनहरूको अधिवेशन गर्नुपर्ने बताए ।

सांसद श्रेष्ठले पार्टीमा धृतराष्ट्रको पुत्रमोहजस्तो आफू नजिकका कार्यकर्तालाई मात्र च्याप्न खोज्ने ‘घृतराष्ट्र प्रवृत्ति’ र नेताहरूलाई महानायक जस्तो ठानेर चाकरी गर्ने ‘सकुनी प्रवृत्ति’ दुबै घातक भएकाले त्यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाएर मात्र सच्चा सङ्घवादी र समाजवादी पार्टी बन्न सक्ने भन्दै काङ्ग्रेस र कम्युनिष्टभन्दा फरक नयाँ ढङ्गको पार्टी निर्माणमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार