संखुवासभा : गत ३ भदौमा आइतबार संखुवासभाको मादी नगरपालिकामा भरुवा भन्दुकले लागेर एक जनाको ज्यान गयो ।
मादी नगरपालिका–८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको प्रहरीले जनाएको छ । तामाङसँगै उनका भाइ रत्नबहादुर तामाङ र छिमेकी कृष्णबहादुर तामाङ पनि सँगै गएका थिए ।
उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, २ ओटा नाल र भरुवा बन्दुकमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलीको रूपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइटसमेत प्रहरीले बरामद गरेको सौर्य दैनिकमा खबर छ ।
यता गत १२ जेठमा पनि धर्मदेवी नगरपालिकामा शिकार खेल्ने क्रममा भरुवा बन्दुकले लागेर नै ३१ वर्षीय योगन्द्र पौडेलको ज्यान गयो । पौडेलसँगै शिकार खेल्न चिरन्जीवी अधिकारी, चन्द्रसुन्दर अधिकारी पनि गएका थिए । उनीहरूमध्ये अधिकारीले बन्दुक चलाउँदा पौडेलको मृत्यु भएको हो ।
यसरी जिल्लामा वन्यजन्तुको शिकार गर्ने क्रम पनि बढिरहेको छ । त्यस्तै, जिल्लामा लुकाएर राखिएको भरुवा बन्दुक पनि नियन्त्रण हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले समय समयमा घरमा भएका हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरे पनि जिल्लावासीले अटेर गरेका छन् । राज्यले वन्यजन्तुको शिकार गरे कारबाही गरिरहेको छ । फेरी कानुनसँग अनभिज्ञ भने कोही छैनन् । तर, जिल्लामा जंगली जनावरको शिकार खेल्ने क्रम भने बढेको छ ।
जिल्लाका घरमा रहेका भरुवा बन्दुकको नियन्त्रण नगर्ने हो भने माथिका जस्ता समाचार दिनहुँ नआउला भन्न सकिँदैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालले मात्रै यस्ता हातहतियार नियन्त्रण गरेर सायदै नसक्ला तर जिल्लामा गठित विभिन्न युवा समूहहरूको सहयोग लिन सकिने छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभामा प्रहरी नायब उपरीक्षक कमल थापा प्रमुख हुँदा एकै पटक १२ थान भरुवा बन्दुक बरामद गरिएको थियो । तत्कालीन समयमा प्रहरीले मत्स्यपोखरी गाविसमा बन्दुक खोज्ने क्रममा बेवारिसे अवस्थामा १० थान र तामाफोक–९ मा २ थान गरी १२ थान भरुवा बन्दुक बरामद गरेको थियो ।
वर्तमान समयमा भरुवा बन्दुक उल्लेख्य रूपमा बरामद हुन नसके पनि अन्य हातहतियार भने बरामद भइरहेका छन् । गत ३१ जेठमा पेस्तोल र गोलीसहित एक युवक पक्राउ परे । सिलिचोङ गाउँपालिका–५ याफु स्थाई घर भएका ३५ वर्षीय केदार राई एक अटोमेटिक पेस्तोल, दुईवटा म्यागजिन र १४ राउन्ड गोलीसहित प्रहरीले फेला पारे ।
त्यस्तै, गत २१ असारमा प्रहरीले आधुनिक हतियारसहित पाँच जनालाई सार्वजनिक गर्यो । सिलिचोङ गाउँपालिकाका केदार राई, पूर्णकुमार राई, सूर्यबहादुर राई चिचिला गाउँपालिकाका सुरेन्द्र राई, भारत विहारका मोहम्मद मुन्ना खानलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सिलिचोङका केदार राईलाई खाँदबारी नगरपालिका–३ बाट ३० जेठमा पक्राउ परेपछि हातहतियारको रहस्य खुल्न आएको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट ७६५७ राउन्ड इन युएसए लेखिएको एक थान पेस्तोल, १४ राउन्ड गोली, दुई थान म्यागजिन, थ्री नट थ्री राइफल दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग गरिने गोलीहरू र विस्फोटक पदार्थ पनि बरामद गरिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरले बताए ।
प्रहरीले उनीहरूबाट राइफलको १० थान गोली, गोलीको खोकाभित्र राखिएको विस्फोटक पदार्थ, तारजडित डेटोनेटर, त्यसको खाली कभर दुई थान, एन्टेना जोडिएको सेतो रंगको रिमोट पनि सार्वजनिक गरेको छ । भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायतका पदार्थ पनि भेटिएको उनले बताए । यतिका मात्राको हतियार कहाँबाट आयो र कहाँ लगिएको हो भन्ने अझै खुल्न सकेको छैन ।
यसरी जिल्लामा कानुनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक सरह हुने कानुनी प्रावधानविपरीत संखुवासभामा पटक–पटक अवैध हतियार बरामद हुँदै आएको छ । असुरक्षाको अवस्था र वन जंगलमा भइरहेकोको चोरी शिकारीले संखुवासभामा अवैध हतियारको अवस्था भयावह रहेको देखिए पनि प्रहरीले अभियान नै चलाएर हतियार बरामद गर्न भने सकेको अवस्था छैन । प्रहरीले कुनै सुराकीको आधारमा वा शिकार खेल्दै गरेको अवस्थामा मात्रै पक्राउ गर्ने गरेको छ ।
जिल्लामा यतिका मात्रामा हातहतियार कहाँबाट आउँछन् भन्ने कुराको अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी नायब उपरीक्षक श्यामकुमार शारु मगरले बताए । ‘जिल्लामा यति अवैध हतियार छ भनेर सहजै अनुमान गर्न सक्ने अवस्था नभए पनि संखुवासभा हतियारको ‘ट्रान्जिट प्वाइन्ट’ नै हो’, डिएसपी मगरले भने, ‘यसका विरुद्ध हामी सक्रिय छौँ ।’