
माईजोगमाई : विश्वको दुर्लभ सूचिमा सुचिकृत रेडपाण्डाको आहारामा संकट देखा पर्न थालेको छ ।
रेडपाण्डाको मुख्य आहारा मालिङ्गो र भालुचिण्डे कलिलो टुसामा मानिसले भाँचेर खान तथा विक्री गर्न थालेपछि रेडपाण्डाको आहारामा संकट देखा पर्न थालेको हो ।
मानिसले स्थानीयले जौवारी, नयाँबजार र सिमापारी मानेभझ्याङसम्म लगेर बेच्न थालेकोले रेडपाण्डाको आहारामा दिनानुदिन संकट देखा पर्न थालेको छ ।
मालिङगोको टुसा हिउँदको समयमा राम्रो आहारा हुने भएकोले दिनानुदिन यसरी टुसा भाँच्नाले मालिङ्गो नै मासिने अवस्था सिर्जना भएको छ । मालिङ्गो मासिए रेडपाण्डा समेत लोप हुने अवस्था आउनेछ ।
इलामको पूर्वी सन्दकपुरको गाउँपालिकाको माबु दोभाने, जमुनाको चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायीक वन, जोगमाईको माथिल्लो सामुदायिक वन लगायतमा पाइने रेडपाण्डाको राम्रो आहारा मालिङ्गो र भालुचिण्डे हो । रेडपाण्डाको संरक्षणको लागि ती क्षेत्रमा मालिङगो काट्न र भालुचिण्डे खोज्न निशेध गरिएको छ ।

केही वर्ष अगाडि ती ठाउँमा रेडपाण्डाको संख्यामा वृद्धि गर्न ‘मालिङ्गो रोपौं, रेडपाण्डा जोगाउँ’ भन्ने अभियान समेत चलाएको थियो । हाल रेडपाण्डा नटवर्कले यसको संरक्षणको अलवा अवस्थाकोबारे महिनै पिछे जानकारी गराउन केही वर्षदेखि ४ जना कर्मचारी समेत खटाएको छ ।
हाल यी ठाउँको सामुदायिक विद्यालयमा रेडपाण्डाको बारेमा जनचेतनाको कार्यक्रम गर्दै आएपनि सामुदयिक वनभित्र छिरेर मालिङ्गोको टुसा र भालुचिन्डे भाँच्ने कार्य नरोकिएको कारण रेडपाण्डाको आहारामा संकट पर्दै जान थालेको हो ।
साउनको अन्तिम सातादेखि भदौसम्म टुसा आउने र यसको सब्जी राम्रो हुने भएकोले स्थानीयले यसको टुसा भाँच्ने गरेका छन् । मालिङ्गोको टुसाले बजारमा पनि राम्रै रकम हात पर्ने भएकोले सिमा पारीसम्म बेच्न लाने गरेको पाइएको छ ।
प्याङ पातल सामुदायिक वनमा मालिङ्गोको टुसा र भालुचिण्डे खोज्न कडाइ गरेपनि छिटफुट छिरेर भाँच्ने काम भइरहेको सामुदायिक वनका अध्यक्ष कुमार बुढाथोकीले स्वीकारे । उनले भने, ‘हामीले सक्दो कडाइ गरिरहेको छौं । तरपनि रोक्न सकिएको छैन । गोप्य रुपमा पत्ता लगाएर कारवाही गर्नेछौं ।’
सो क्षेत्रमा ४ जोडीदेखि ६ जोडीसम्म रेडपाण्डा रहेको अनुमान गरिएपनि यसको संख्यामा वृद्धि हुन सकिरहेको छैन । अति लजालु र सोझो स्वभावको भएकोले पनि यसलाई जंगली जन्तु र घरपालुवा कुकुरले सजिलै आफ्नो आहारा बनाउने भएकोले पनि यसको संख्यामा वृद्धि हुन सकिरहेको छैन ।
यसको संरक्षणकै निमित्त केही वर्षदेखी रेडपाण्डा पाउने क्षेत्रमा यस सम्बन्धी सबै सामुदायिक विद्यालयमा पठनपाठन गर्ने रेडपाण्डा नेटवर्कको योजना रहेको छ । हाल सन्दकपुर गाउँपालिकाको जमुना इङलाको राष्ट्रीय आधारभूत विद्यालयमा पठनपाठन सुरु भएको छ ।
स्थानीय भाषामा हाब्रेको नामाले चिनिने गरेको यसको बनोट बिरालो जस्तै हुन्छ । तर रङ कालो, रातो र सेतो मिसिएको हुन्छ । यसको पुच्छर ठूलो र लामो हुन्छ । पोथी रेडपाण्डाको तोल ३ देखि साडे ४ किलोसम्म हुन्छ भने भाले रेडपाण्डाको तौल ६ किलोसम्मको हुन्छ । समुन्द्री सतहको १६ सय मिटरदेखि २४ सय मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ ।



















































