नदीले कटान गर्न थालेपछि स्थानीय त्रसित

रौतहट : रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ६ र ९ को बिच भागमा बागमती नदीले कटान तीब्र गरेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।

केहि दिनदेखि परेको अविरल वर्षाले बागमती नदीको जलस्तरमा बृद्धि भएसँगै कटान शुरु गरेको छ । बाँधदेखि पूर्वमा रहेको करीव ५० मीटर दुरीको जग्गा मध्ये २५ मीटर कटान गरी पश्चिम बाँध नदीको धार आउन लागेकोमा  राजदेवी नगरपालिकाको ६ कटरवान र ९ ब्रह्मपुरीका स्थानीयहरु त्रसित भएका हुन् ।

बाँधदेखि नदीको धार करीव १५ मीटरको दुरी रहेको हुँदा कुन बेला नदीले बाँध भत्काइदिने भनी स्थानीय चिन्तित छन् । नदीमा पानीको बहाव तीव्र देखिएको छ । बाँध भत्किएमा सदरमुकाम गौर डुवानमा पर्नुको साथै मुड़वालाबा, लक्ष्मीपुर बेलविच्छवा प्रभावित हुने खतरा रहेको छ । सदरमुकाम गौरदेखि बागमती नदी ८ किलोमीटर टाढा पूर्वमा रहेको छ । बागमति नदीदेखि गौर तल रहेको हुँदा डुवान पर्न सक्ने खतरा छ ।

गएको वर्षमा आएको विनाशकारी बाढ़िको प्रकोपबाट भयभीत भएका स्थानियहरु पुनः विनाशकारी बाढ़ि आउछ की भनेर सशंकित बनेका छन् । बाँध जोखिममा रहेको जानकारी हुन साथ प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल सहितको सुरक्षा निकायले बाँध तथा नदीको पानीको अवस्थाको अवलोकन गरेका छन् ।

नगरप्रमुख धीरेन्द्रकुमार सिंहले पानीबाट बाँध जोगाउने प्रयास जारी रहेको बताए । स्थानीय हरुले पानी माटो कटानको नियन्त्रण गर्न कटान भईरहेको ठाउँमा जाली राखेर प्लास्टिकको बोरामा माटो राख्ने कार्य गरीरहेका छन् ।

बाढी आउने सम्भावनाको मध्यनजर गर्दै स्थानीय प्रसाशनले सतर्कता अपनाउन बागमती तथा लालबकैया नदीका छेउछाउका स्थानीय तथा सदरमुकामका स्थानीयलाई जानकारी गरइसकेका छन् । बागमती नदीमा पानी खतराको निशान भन्दा बाढी भइसकेकोले सवैलाइ सुरक्षित बस्न तथा सामान सुरक्षित ठाउँमा राख्न आव्हान गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

नदी नियन्त्रण कार्यालय र स्थानी नगरपालिकाको सहयोगमा रोकथामको प्रयास भैरहेको रिजालले बताए । जिल्ला विपद व्यवस्थापन समिति लगायत सुरक्षा निकायलाइ दुर्घटना हुन नदिन सतर्क गराइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार