प्रधानमन्त्रीद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बिषयमा पूर्व परराष्ट्रमन्त्रीसँग छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व पराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वहरुसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गरेका छन् ।

प्रधानमन्त्रीले ओलीले आफ्नो एक महिना अघिको भारत भ्रमणको पहिलो दिनको भेटमै आफूले भारतीय समकक्षीसँग सुझाएको मितिमै उनको भ्रमण हुन लागेको जनाउँदै भने, ‘यस पटक हाम्रो राष्ट्रिय हितका पक्षमा भारतका नेताहरुले सम्मान प्रकट गर्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरा प्रष्ट रुपमा राखे ।’

उक्त अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणका अवसरमा आयोजना गरिने कार्यक्रमहरुका बारेमा बताएका थिए । छलफलका क्रममा पूर्व प्रधानमन्त्री तथा पूर्व पराराष्ट्रमन्त्री माधवकुमार नेपालले भारतले सीमा क्षेत्रमा बनाएका वाँधहरुका कारण हरेक वर्षातका मौसमा नेपालपट्टि डुवान हुने समस्याका सम्बन्धमा भारतीय पक्षले संवेदनशीलता अपनाउनु पर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठले पनि नेपालका तर्फबाट भारतीय पक्षसमक्ष दुई पक्षीय मामिलामा वार्ता गर्दा राष्ट हितको विषयलाई शिरोपर गर्नु पर्ने धारणा व्यक्त गरे । पूर्व परराष्ट्र मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, डा. भेषबहादुर थापा तथा पूर्व रक्षा मन्त्री भीम रावल, राजपाका नेता महन्थ ठाकुरले भारतका तर्फबाट गरिएका प्रतिवध्दता पूरा गरिनु पर्ने धारणा व्यक्त गरेका थिए ।

डा. भेषबहादुर थापाले प्रधानमन्त्री ओलीको पहलमा नेपाल र भारतबीच यस अघि कहिल्यै नभएको परिमाणमा सम्वाद भइरहेको धारणा व्यक्त गर्दै भारतको राजनीतिक तहमा नेपालको सुनुवाई प्रभावकारी रुपमा भइरहेको बताए । अब भारतीय पक्षको कार्यान्वयन गर्ने तहबाट पनि त्यसअनुसार व्यवहार हुने छ भन्ने गरिएको उनले बताए । भ्रमणका अवसरमा मोदीलाई जनकपुरको अभिनन्दनपछि काठमाण्डौमा महानगरपालिकाले राष्ट्रिय सभागृहमा अभिनन्दन गर्ने जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार