विश्‍व साइकल यात्रीको नेपालमा इलामबाट यात्रा सुरु

नयाँ बुलन्द

इलाम : विश्व साइकल यात्रीद्वय फ्रान्सका क्रिष्टोफ र कोरिनलाई मालापथ सामुदायिक होमस्टेले यात्रा सफलताको कामना गर्दै विदाई गरेको छ । हङकङ, चीन, म्यानमार, लाओस, थाइल्याण्ड र भारतको साइकल यात्रापछि काकरभिट्टा हुदै इलाम आइपुगेको जोडिले नेपालको लागि इलामबाट शनिबार विहान यात्रा शुरु गरेका हुन् ।

उनीहरुले धरान, काठमाण्डौ उपत्यका, पोखरा र अन्नपूर्ण वेस क्याम्प घुम्ने योजना बनाएका छन् । सन् २०१८ को डिसेम्बर २५ तारिक अर्थात २०७५ सालको पुस १० गते मात्र पुन पेरिस पुग्ने योजना बनाएको यो जोडिले साइकलमा विश्वयात्रा गर्न २०७४ कात्तिक २० गते फ्रान्सको पेरिसबाट हिडेको थियो ।

आगामी क्रिसमस सम्ममम ५० राष्ट्र साइकलमै पुग्ने उनीहरुको लक्ष छ । काउचसर्फिङ नामको मोबाइल एप्लिकेसनमार्फत विश्वका हरेक राष्ट्रका नागरिकसँग उनीहरु जोडिन सम्भव भएको क्रिष्टोफले बताए । उनले भने, “काउचसर्फिङका प्रयोगकर्ताहरु दुनियाँ घुम्न पाउछन्, विश्वभर भएका साथीहरुकोमा गएर निशुल्क बस्न र घुम्न पाउछन् ।” उनीहरु काठमाण्डौमा चर्चित विश्व साईकल यात्री पुष्कर शाहकोमा बस्दैछन् । पुष्करलाई पनि उनीहरुले काउचसर्फिङमै भेटेका थिए ।

आफु घुमेर बसेका परिवारका सबै सदस्यहरुलाई आगामी बर्ष फ्रान्सको पेरिसमा उनीहरुले घुम्न र निशुल्क बस्नको लागि निमन्त्रणा समेत पठाउने टोली सदस्य कोरिनले बताइन् तर निमन्त्रणा पाउने मानिसको काउचसर्फिङमा प्रोपाईल बनेको हुनुपर्ने सामान्य नियम पालना गरेको हुनुपर्नेछ ।

तीन दिनको इलाम बसाइमा उनीहरुले इलामको चियाबारी, भालुढुङ्गा, माइपोखरी र इलाम बजार भ्रमण गरे । कोरिन र क्रिष्टोफ अविवाहित भएपनि आगामी बर्ष विवाह गर्ने उनीहरुको योजना छ । यो जोडीको यात्राको रमाइलो कुरा त के छ भने साइकल यात्रा अघि आफ्नो कपाल, दाह्री र जुँगा खौरिएर यात्रा शुरु गरेका क्रिष्टोफले यात्राको अन्त्यसम्म कपाल, दाह्री र जुँगा नकाट्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार