इलाममा ५३९ उम्मेद्वारको जमानत जफत

नयाँ बुलन्द

इलाम : स्थानीय तहको निर्वाचनमा इलामका पाँच सय ३९ जनाको जमानत जफत भएको छ । जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकामा खसेको सदर मतको १० प्रतिशत नल्याउने उम्मेद्वाहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिकामा प्रमुखमा पाँच जना, उपप्रमुखमा चार जनासहित ९५ जनाको जमानत जफत भएको छ । सर्याेदय नगरपालिकामा प्रमुखमा ४ र उपप्रमुखमा ४ सहित ९५ जनाको जमानत जफत भएको छ । त्यस्तै देउमाई नगरपालिकामा प्रमुखमा ४ र उपप्रमुखमा २ सहित ६८ जना र माई नगरपालिकामा प्रमुखमा ३ र उपप्रमुखमा १ सहित ६८ जनाको जमाना जफत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत कृष्णकुमार लिम्बूले जानकारी दिए ।

त्यस्तै चुलाचुली गाउँपालिकामा अध्यक्ष ७ र उपाध्यक्षमा ३ सहित ६२ जना, माङसेबुङ गाउँपालिकामा अध्यक्ष १ र उपाध्यक्ष १ सहित १९ जना, फाकफोकथुममा अध्यक्ष ३ र उपाध्यक्ष ४ सहित ४५ जना, सन्दकपुर गाउँपालिकामा अध्यक्ष ४ र उपाध्यक्ष २ सहित २३ जना, माइजोगमाईमा अध्यक्ष २ र उपाध्यक्ष २ सहित २७ जना र रोङ गाउँपालिकामा अध्यक्ष ६ र उपाध्यक्ष २ सहित ३७ जना उम्मेद्वार सहति २३ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रको उम्मेद्वारहरुमा माई नगरपालिकाका प्रमुखका उम्मेद्वार भक्तबहादुर लुङ्गेली, उपप्रमुखमा रञ्जना थापा र चुलाचुली गाउँपालिकाको उपाध्यक्षमा धनादेवी पोख्रेल बाहेक आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षका उम्मेद्वारहरुको जमानत जफत भएको छ ।

इलाममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा गरी नौ वटा दल र स्वतन्त्रका उम्मेद्वार गरी एक हजार पाँच सय ९१ जनाले निर्वाचनमा भाग लिएका थिए । एक जना निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा भाग लिएका मध्ये इलाम नगरपालिका वडा नम्बर १ का राप्रपाका वडा सदस्यका उम्मेद्वार गोवरधन बस्नेतले एक मत पनि ल्याएनन् । दोस्रो कम मत भने राप्रपाका इन्द्रबहादुर राई र संघीय समाजवादी फोरमकी विष्णु माया केरुङ्गले ३–३ मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार