झापा : झापाको दमक नगरपालिकामा सबै दलहरुले चुनावी गतिविधिलाई तीव्र बनाइरहेका बेला नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त चुनावी अभियान तीव्र बनाएका छन् ।
नगरपालिका क्षेत्रमा संयुक्त चुनावी प्रचारमा खटेका दुई दलले दमक नगरपालिकाको प्रमुखमा नयाँ शक्तिका सतिश साह र उपप्रमुखमा संघीय समाजवादी फोरमका गंगा सागर शेर्मालाई अगाडि बढाएका छन् ।
दुई दलको संयुक्त चुनावी संयन्त्रले नगरपाकिलाको ८ वटा वडामा पनि उम्मेदवार टुंगो लगाएको नयाँ शक्ति पार्टीका दमक नगरपालिका उत्प्रेरक योगेश उप्रेतीले बताए । दुई दलले वडा नं. १ मा ओममाया आङ्दाम्बे, ३ मा डम्बर तिमिल्सिना, ५ मा राजु खड्का, ६ मा पुष्प खड्का, ७ मा गजेन्द्र लावती, ८ मा उमेश गजमेर एवं वडा नं. १० मा खगेन्द्र न्यौपानेलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उम्मेदवारको अलवा दुई दलले नगरपालिकामा चुनावी प्रचारलाई तीव्र बनाएका छन् । नयाँ शक्तिले उम्मेदवारी दिएको सबै वडाहरुमा पार्टी वडा कमिटी निर्माण गरिसकेको र बाँकी वडाहरुमा कमिटी निर्माण गर्ने प्रक्रिया जारी रहेको नगर उत्प्रेरक उप्रेतीले बताए ।
चुनावी अभियानलाई तीव्रता दिँदै दुई दलले संयुक्त रुपमा र्यालीसहित घरदैलो कार्यक्रम पनि जारी राखेका छन् ।