सातदिनभित्र माग पूरा नभए गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने

फाल्गुन : संघीय गठबन्धनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणाको निर्णय सात दिनभित्र फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको छ ।

मंगलबार काठमाडौंमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनको बैठकले सात दिनभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिँदै त्यस समयसीमाभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ । बैठकपछि गठबन्धनका प्रवक्ता ओम गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले दिएको समय सीमाभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा संघीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेसी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ ।’

यस्तै गठबन्धन बैठकले सप्तरी घटनाविरुद्धमा देशव्यापी हड्ताल लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार पर्सि बिहीबार फागुन २६ गते राजधानीसहित देशभरका जिल्ला सदरमुकामहरुमा प्रदर्शन र विरोध सभा गर्ने, २७ गते देशव्यापी हड्ताल गर्ने, सप्तरी घटनामा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै त्यसबारे ध्यानाकर्षण गराउन नेपालस्थित संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र दिने निर्णय गरिएको छ । त्यस्तै, सप्तरी घटनामा प्रहरीको गोलीबाट ज्यान गुमाएका मृतकहरुलाई तत्काल सहिद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुलाई स्वास्थ्य उपचार गर्न गठबन्धनले सरकारसँग माग गरेको छ ।

नेकपा (एमाले)को मेची महाकाली अभियानका क्रममा फागनु २३ गते सोमबार सप्तरीमा आयोजित सभामा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएको पुष्टि भए पनि गठबन्धनले ७ जनाको ज्यान गएको दाबी गरेको छ ।  घटनामा दर्जनौं घाइते भएका छन् । गठबन्धनले राजविराजको घटना एमालेले नियोजित रुपमा गराएको समेत दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार