बस र स्कार्पियो ठोक्किँदा ६ जनाको मृत्यु

दाङ : दाङको लमही नगरपालिका–९ रिहारमा गएराति चितवनबाट जन्ती लिएर फर्किंदै गरेको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

चितवन गीतानगरबाट बाँकेको समशेरगञ्जतर्फ जन्ती लिएर फर्किंदै गरेको बा१२च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना५ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा स्कार्पियोमा सवार आठ जनामध्ये ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुईजना घाइतेको कोहलपुरमा उपचार भइरहेको छ ।

मृत्युु हुनेमा दुलाहाका बुवा, आमा र आफन्त छन् । दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । दुलाहा–दुलही भने अर्काे स्कार्पियोमा थिए । बुवाआमा र आफन्न चढेको स्कार्पियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार