आमासँग बलबहादुरको अन्तिम बोली…

इलाम : सोमबार राती बलबहादुर कुलुङले संसार छोडे । विषाक्त रक्सीले उनको ज्यान लियो । त्यो पनि बिरानो देशमा भएका बेला ।

एक दिनअघि अथवा आइतबार मात्रै इलामको देउमाइ नगरपालिका-७ सिद्धिथुम्काका बलबहादुरले आमालाई फोन गरेका थिए । दसैँ आउन एक महिना मात्रै बाँकी भएकाले आमा फूलमायाले छोरालाई यसपालीको दसैँमा घर आउन भनिन् ।

तर उनले यो वर्ष बहिनी आइन् भने आफू अर्को वर्ष मात्रै आउने बताए आमालाई । उनकी बहिनी अहिले अमेरिकामा छिन् । ‘मैले बहिनीसँग गफ गरे यो साल बहिनी आउँछु भनेको छ, उनी आइन् भने म आउँदिन आइनन् भने चाहिँ सोचौंला भन्यो’ फूलमायाले भनिन् ।

दसैँमा घर नआउने भएपनि आमालाई सुन किनिदिने योजना बनाएका थिए बलबहादुरले । ‘मैले उसलाई जसरी पनि आइज न भनेको थिए, तर मेरो चिन्ता नलिनु बहिनीसँग बस्दै गर्नु तपाईंलाई मंसिरमा सुन किन्ने पैसा पठाउँछु । सुन किनेर लगाउनु भन्यो’ फूलमाया भन्छिन् ‘अर्को वर्षको दसैँ बहिनी, तपाईं र म भएर मनाउनुपर्छ भनेको थियो ।’ तर फूलमायाले छोराको त्यही बोली नै अन्तिम होला अनि अब कहिल्यै छोरासँग दसैँ मनाउन पाइँदैन भनेर सोचेकी थिएनन् ।

चार वर्षदेखि अवैधानिक थिए बलबहादुर 

बलबहादुर मलेसिया गएको ६ वर्ष भयो । उनी सेक्युरिटी गार्डमा जति तलब हुन्छ भनेर मलेसिया पुगेका थिए, त्यो भएन । भनेको जति मात्रै होइन कम्पनीले समयमा तलब पनि दिएन । दुई वर्षको सम्झौता उनले त्यही कम्पनीमा काटे ।

तलब नपाउने समस्याकै कारण उनी भागेर काम गर्न थाथे । भागेर काम गरिरहेको कुरा पनि बलबहादुरले आमालाई सुनाएका थिए । केही महिनाअघि मलेसियामा अवैधानिक भएर काम गरिरहेकाहरु मलेसिया सरकारले दिएको आममाफीमा नफर्किए पक्रिने खबर रेडियो, टिभीले भनेका भन्यै थिए । फूलमायाले पनि खबर सुनिन् । छोरालाई उनले भागेर काम नगर्न भन्दै फर्किन भनिन् ।

तर बलबहादुरले अवैधानिक भएपनि काम सजिलो अनि कमाइ धेरै हुने भएकाले नफर्किने बताएका थिए । एक वर्ष अवैधानिक भएर बसेरै कमाउने अनि अर्को मंसिरमा घर फर्किने योजना थियो बलबहादुरको ।

मलेसियाबाट फर्किएर युएई जाने तयारीमा थिए बलबहादुर । त्यसकै लागि पैसा जुटाउन पनि अब एक वर्ष बस्ने भनेका थिए आमासँग । तर अर्को वर्षको दसैँ आमासँग मनाउने अनि कमाउने फेरि युएई जाने बलबहादुरका सपना मलेसियामै बिलायो ।

उनको शव ल्याउन परिवारले वडा कार्यालयबाट सिफारिस बनाएको छ । शव छिटो ल्याउन पहल गरिदिन पनि सरकारसँग परिवारले आग्रह समेत गरेको छ । उज्यालोबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार