व्यापारीको अपहरणपछि हत्या

भद्रपुर (झापा) : कपडा व्यवसाय गर्दै आएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ।

कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीस्थित विनोद यादवको खेत नजिकै रहेको नालामा मंगलबार बिहान भेटिएको हो।

मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ। घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको छ। प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बेलुका मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा सवार पौडेल र उनकी श्रीमती पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए। करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए।

सद्धामसँग ९० हजार रुपैयाँ उठाउनु रहेकाले गौरीजञ्ज गएको पौडेलकी श्रीमतीले प्रहरीलाई बताएको प्रहरी उपरीक्षक बस्नेतले बताए। सद्धामसँग गएका पौडेल राति अबेरसम्म नफर्किएपछि उनी अपहरण परेको भनी श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएका थिए।

अपहरणमा परेको सूचना पाएलगतै प्रहरीले उनको रातभर खोजतलास गरेका थिए। ‘उनको शव हत्या गरिएको अवस्थामा बिहान मात्र फेला पर्‍यो,’ प्रहरी उपरीक्षक बस्नेतले भने।thahakhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार