पर्यटन प्रवद्र्धन गर्न ‘तिम्बुङ पोखरी’ महोत्सव

  प्रयास लिम्बू
0 Shares

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा तिम्बुङपोखरी महोत्सव २०७५ आयोजना गरिने भएको छ ।

सिदिङ्बा गाउँपालिका १ कालिखोला र पाँचथरको सिमानामा अवस्थित पर्यटकीय स्थल तिम्बुङपोखरीको आवश्यक प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो भदौ तेस्रो साता तेस्रो तिम्बुङपोखरी महोत्सवको आयोजना गर्न लागिएको हो ।

धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिने तिम्बुङपोखरी सदरमुकाम फुङ्लिङदेखि २६ कोष टाढा करिव तीन दिनको पैदल दूरीमा पर्दछ । प्रशस्त सम्भावना भएर पनि हालसम्म पर्यटन प्रवद्र्धन तथा विकासका लागि आवश्यक प्रचारप्रसार र अन्य क्रियाकलापहरु नभएकै कारण ओझेलमा परेको महशुस गरी यसपटक महोत्सवको आयोजना गर्न लागिएको हो ।

सिदिङ्बा गाउँपालिकाले गाउँसभाबाटै योजना पारित गरी आउँदो भदौ २२, २३ र २४ गते तीन दिन तिम्बुङपोखरी महोत्सव गर्न लागिएको सो गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । शुक्रबार सदरमुकाम फुङ्लिङमा तिम्बुङपोखरी महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष कडरियाले जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास र साँस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले समेत महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

महोत्सव आयोजनाले अन्तर्राष्ट्रिय जैविक मार्गको रुपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र तिम्बुङपोखरीसँगै नजिक रहेका सिदिङ्बा गाउँपालिकाभित्रका ढङ्ढङ्गे झरना, काली पोखरी, हात्ती ढुङ्गा लगायतका पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसार गरी पूर्वी नेपालकै पर्यटन विकासमा टेवा पु¥याउन सक्ने अपेक्षा राखिएको कडरियाले बताउनुभयो । भारतको सिक्किमसँग समेत सीमा जोडिएको पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको तिम्बुङपोखरीको भौतिक पूर्वाधार विकास साथै आवश्यक प्रचार–प्रसार भएमा हजारौं पर्यटकहरु भित्र्याउन सकिने सम्भावना रहेको छ । तर, हालसम्म यस स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्छ भन्ने ध्यान कसैको नजाँदा ओझेलमा परेको छ ।

यसअघि स्थानीय निकाय तथा जिल्ला विकास समितिको पहलमा दुई पटकसम्म तिम्बुङपोखरी महोत्सवको आयोजना गरिएको थियो । त्यस्तै कालिखोलाका स्थानीबासीको पहलमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले तिम्बुङ् पोखरीको गुरुयोजना बनाई केही कार्य पनि गरेको स्थानीय टइन्द्र चापागाईंले बताउनुभयो । चापागाईंका अनुसार गुरु योजनालाई निरन्तरता नदिँदा कुनै उपलब्धिमुलक काम भने हुन नसकेको हो । गुरु योजनाका रुपमा कार्य सुरु गर्दा स्थानीय तथा सरोकारवाला निक्कै हौसिएका थिए तर, योजनाले निरन्तरता नपाउँदा र केही पनि प्रगति नहुँदा जनताको अपेक्षा त्यसै निरासामा परिणत भएको उहाँको भनाइ छ ।

चार हजार ४८१ मिटरको उचाइमा रहेको तिम्बुङपोखरीमा हालसम्म धार्मिक पर्यटकहरु मात्र दर्शन, भ्रमण र अवलोकनका लागि जाने गरेका छन् । पोखरीको दर्शन गरेमा सोचे चिताएको पुग्ने धार्मिक विश्वास रही आएका कारण साउन महिनामा दर्शनार्थी तथा पर्यटकको घुँइचो लाग्ने स्थानीय बताउँछन् । स्थानीयका अनुसार नागपञ्चमी पर्वको अवसर पारेर हरेक वर्ष साउनदेखि असोज महिनासम्म दर्शनार्थीको आगमन हुने गरेको छ । उक्त ठाउँमा पूर्वी नेपालका विभिन्न ठाउँ साथै भारतको सिक्किम, दार्जिलिङ लगायतबाट दर्शनार्थीहरु आउने गरेका छन् ।

सुन्दर तिम्बुङपोखरीको दर्शन भ्रमणसँगै यस क्षेत्रमा पाइने विश्वमै दुर्लभ रेडपाण्डा (हाब्रे), डाँफे लगायतका अन्य जीव जनावरहरु र बहुमूल्य जडिबुटीहरु समेत प्रत्यक्ष देख्न र अवलोकन गर्न पाइने बताइएको छ । यस्तै कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न सकिने पनि सिदिङ्बा गाउँकार्यपालिकाका सदस्य समेत रहनुभएका स्थानीय कैलास राईले जानकारी दिनुभयो ।

यता पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको तिम्बुङपोखरीमा आयोजना गर्न लागिएको तिम्बुङपोखरी महोत्सवले अबदेखि वार्षिक रुपमा हजारौं पर्यटकहरु भित्र्याउनलाई सघाउ पु¥याउने विश्वास राखिएको सिदिङ्बा गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले बाउनुभयो । उपाध्यक्ष ताम्लिङले सिदिङ्बा गाउँपालिका नै आयोजक बनी महोत्सव आयोजना गरिएको बताउनुभयो । स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाले गाउँसभाबाटै महोत्सवका लागि कार्यक्रम बनाइएको पनि जानकारी दिनुभयो ।

यस्तै आयोजक सिदिङ्बा गाउँपालिकाका अनुसार स्थानीय जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, महिला, समाजसेवी लगायत सम्मिलित १११ सदस्यीय महोत्सव मूल आयोजक समिति पनि गठन गरिएको छ । महोत्सवमा तिम्बुङपोखरी लगायतका पर्यटकीय स्थलहरुको अवलोकन, पूजापाठ, साँस्कृतिक झाँकी प्रदर्शनी लगायतका कार्यक्रमहरु गरिने मूल आयोजक समितिले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार