अपडेट नै हुँदैनन् सरकारी कार्यालयका ‘वेबसाइट’

सूचना लिन जाने सेवाग्राही मारमा

काठमाडौैं : नेपालका सरकारी कार्यालयहरुमा कत्तिको भिडभाड देख्नुभएको छ ?  साझा उत्तर आउँछ : भनिसाध्यै छैन ।

 सरकारी कार्यालयको पहिलो काम जनताको समस्या हल गर्ने हो । दोस्रो उनीहरुलाई अप्ठेरोमा नपरीकन सेवा सुविधा दिनु । यसैको खातिर यी  मन्त्रालय खडा गरिएको हो ।
तर मन्त्रालयले यी कर्तव्य पुरा गर्नु त कता हो कता सञ्चालनमा ल्याएका विभिन्न वेबसाइटहरु समेत अपडेट गर्दैनन् । त्यसैले जनताले स साना समस्या बारे सोध्न बुझ्न पनि कार्यालय नै धाउनुपर्ने बाध्यता छ । नाममात्रैका वेबसाइटहरु महिनौँदेखि अपडेट छैनन् ।

प्रत्येक देशको विकासमा विज्ञान तथा प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक मानिन्छ । विज्ञान र प्रविधिको विकासविना कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक विकास असम्भव छ । विकासशील मुलुकले प्रविधिलाई आत्मसाथ गर्दै यसको विकास र विस्तारमा समेत उच्च प्राथमिकता दिइरहेका छन् ।

विकसित राष्ट्रहरुले विज्ञान र प्रविधिको  विकास र विस्तारमा आफ्ना प्रयासहरु केन्द्रित गरिरहँदा नेपालमा भने प्रविधिको प्रयोगका विषयमा कमै मात्रै बहस हुने गरेको छ । निकै ढिला प्रविधिलाई आत्मसाथ गरेको नेपालका सरकारी वेबसाइटहरु हेर्दा लाग्छ, सरकारी कार्यालयहरु वेवसाईटमा सूचना जानकारी राख्नुलाई खासै महत्व र आवश्यकताको विषय मान्दैनन् ।

सरकारी कार्यालयका वेबसाइट, फेसबुक पेज, अफिसियल पेज, इन्स्टाग्राम, ट्वीटर आदि छन् । तर ती अपडेट गरिएका छैनन् । ती साईटहरु अपडेट नहुँदा तिनले सूचना दिन त चुकेका छन् नै त्यसका साथै प्रविधिलाई पनि गिज्याइरहेका छन् । सरकारी कोषको रकम खर्चेर बनाइएका वेबसाइटहरुको प्रयोग नहुनाले सेवाग्राहीहरुले समस्या भोग्नु परेको छ ।

प्रत्येक मानिसको हातमा मोबाइल र इन्टरनेट सेवा सुविधा छ । सामान्य लेखपढ गर्न सक्ने मान्छेले समेत सजिलै सँग यसको प्रयोग गर्न सक्छन् । तर जनताले आफूलाई प्रविधिको प्रयोगमा अभ्यस्त बनाएअनुसार सरकारी कार्यालयहरुले अपडेट गर्न चुकेका छन् ।

चुनावताका हामीले घोषणा पत्रमा पढेका थियौँ । फ्री वाईफाई, ईन्टरनेट एक्सेसका नारा । तर सरकारले विज्ञान र प्रविधिको क्षेत्रको विकासको लागि नयाँ काम गर्नु त परको कुरा भएका वेवसाईटहरुसमेत अपडेट हुन छोडेका छन् ।


२१ औँ शताब्दीमा पनि नेपाली जनताहरुले सानो भन्दा सानो सूचनाको लागि घण्टौंको सास्ती व्यहोरेर कार्यालयमा नै पुगेर सूचनाको लागि ढुक्नुपर्ने अवस्था छ । कि त भोलिपल्टको अखबार नै कुर्नुपर्छ । एउटा सानो फारम भरेर बुझाउनको लागि दिनभरि लाइनमा बस्नु पर्ने अवस्था कहिले हट्छ भन्ने प्रश्नको उत्तर सरकारी आधिकारीहरुसँग पनि छैन ।

यातायात विभाग, पुरातत्व विभाग, सूचना मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भन्सार विभाग, वैदेशिक रोजगार विभाग, कारागार व्यवस्थापन विभाग, मुद्रण विभाग, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, नेपाल खानीपानी विभाग, कृषि मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका मन्त्रालयको आफ्नै वेवसाईट, पेज छ तर यी मध्ये एक दुईवटा बाहेक प्राय दैनिक रुपमा अपडेट भएका छैनन् ।

श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव प्रसाद रिजाललाई फोन मार्फत सोधेका थियांै, ‘वैदेशिक रोजगार विभागको अफिसियल वेवसाईटहरु अपडेट हुने गरेको पाइदैन, मुख्य समस्या के हो तपाईहरुको वेवसाईटहरु अपडेट नहुनुमा ?’

उत्तर आयो ‘तपाईको प्रश्न चाहिँ के हो ?’

‘जनतालाई चाहिएको सूचना तपाईको अफिसियल वेबसाइटहरुमा छैनन् कारण के हो ?’ प्रश्न दोहो¥याइयो ।

‘तपाईलाई के सूचना चाहियो त्यो चाहिँ भन्नुस् न ! मलाई त अपडेट नभएको जस्तो लाग्दैन । हामी नयाँ पेज बनाउँदै छौँ । पुरानोमा पनि तल गए पछि हेर्न मिल्छ ।’ उनी कड्किए ।
कर्मचारी कति जना हुनुन्छ ?

छन् टन्नै ।

संख्या कति हो ?
एक जना हुनुन्छ मलाइ उहाँको नाम चाहिँ थाहा भएन ।

सबैभन्दा धेरै हेरिने अर्को पेज हो यातायात विभाग । लाइसेन्सको बारे बुझ्न ट्रायल बारे जानकारी लिन पनि यो पेज प्रयोग हुन्छ । लाइसेन्सको फारम वेबसाइटमा राखिएको छ । डाउनलोड सम्म गर्न मिल्छ तर अनलाइनमा बुझाउने व्यवस्था भने छैन ।

वेवपेज अण्डर कन्सट्रक्सन 
कतिपय  सरकारी कार्यालयहरुको वेवसाईटहरु ‘पेज अण्डर कन्सट्रसन’ भनेर लेखेर छोडिएको छ । तर पेज बन्दैछ भनेको महिनौँ बित्छ । अत्तोपत्तो हुँदैन ।
सरकारी कार्यालयहरुमा एउटै गल्ती पटकपटक दोहोरीरहँदा र लापरबाही बढीरहँदा सेवाग्राही अलमलमा छन् ।

पछिल्लो समयमा निजी संस्था पनि वेवसाईटमार्फत आफ्ना संस्थाका सूचना समाचार र जानकारीहरु दिईरहेका छन् । पेजहरु मिनेट मिनेटमा अपडेट हुने गरेका छन् । सरकारी संस्थाको तुलनामा निजि संस्थाहरुको सेवा सुविधालाई जनताले बढि प्रयोग गरेको पाइन्छ । निजि संस्थाहरुको वेबसाइटमा भएका सूचनाहरुमा कार्यालयको प्रायजसो सबै सुबिधाहरु हुन्छ ।

निजि संस्थाहरुमा सबै कामहरु छिटो हुने गरेको छ । निजि संस्थाहरु सूचनाको क्षेत्रमा होस् वा सुविधाको क्षेत्रमा सधै अगाडि रहँदै आएका छन् ।  नीजि कार्यालयका साईटहरु छिटो अपडेट हुनाले उपभोक्ताहरु लाई सहज हुने गरेको छ । आफ्नै घरमा बसेर कार्यालयको सुविधा पाउने भएकाले पनि सर्वसाधारण नीजि संस्था र यीनले दिने सेवामा सन्तुष्ट छन् ।

लोकपथबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार