खडेरीका कारण खाद्यन्न संकट उत्पन्न हुने,स्थानिय वसाईसर्दे

पाँचथर : तुम्वेवा गाउँपालिकामा खडेरीका कारण खाद्यान्न संकट उत्पन्न हुने देखिएको छ । गत असार देखि अहिले साउन वित्न लाग्दा समेत आकाश बाट पानी नपरेका कारण खाद्यन्न संकट हुने अवस्था देखिएको स्थानिय तुम्बेवा २  चुवाडे हाकपाराका टंक खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ वैशाख,जेठमा पानी परेकोले मकै,बदाम,जुनेलो,दालहन लगायत छरियो तर अहिले साउन वित्न लाग्दा समेत पानी नपरेपछि हामी चिन्तित भएका छौ ।”
यस ठाउँका कृषकहरुले लगाएको मकै अहिले राम्रो सँग डोढ पनि नभएको उहाँको गुनासो छ । खडेरीका कारण मकैमा सुत्ला सम्म लागेनन्,अहिले वस्तुभाउले समेत नखाने गरी मकै सुकेको उहाँले गुनासो गर्नुभयो । यस्तै अर्को कृषक दल बहादुर खत्रीले यस ठाउँमा पानी नपर्दा वर्षभरी खाने अन्नवाली नै नभएपछि खाद्यान्न संकट हुने बताउनुभयो । उहाँले भन्नुभयो,“यस ठाउँमा मकै,बदाम,दालहन हुने हो,त्यहीँ पनि खडेरीले सखाप पारेपछि अव वर्षदिन सम्म के खाने थाहा छैन ? ।”
उहाँले थप्नुभयो,“पानी राम्रो सँग परेको भए उब्जाऊ भएको अन्नबाली विक्री गरेर भएपनि चामाल किनेर खाइने थियो,तर अव अन्नबालीनै खडेरीले सखाप भएपछि के खुवाएर जहान परिवार पाल्ने हो,चिन्तामा परियो ।”
अहिले त्यस ठाउँमा पानी नपरेपछि र नजिकका खोला खोल्सी र कुवा सुकेपछि पानीको हाहाकार मच्चिएको छ । मानिसले प्रयोग गर्ने पानी तमोर नदीबाट ल्याउने गरिएपनि बस्तुलाई दिने पानी दिन समस्या भएको अर्का स्थानिय सहमान कार्कीले बताउनुभयो । अहिले खानेपानीकै कारण स्थानिय यस ठाउँमा वसाई सराई सर्न थालेको स्थानिय रमेश कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“उब्जाऊ हुने भए पो यस ठाउँमा वस्नु,उब्जाऊ हुने अन्नबाली पनि खडेरीले सखाप पारेपछि के खाएर वस्नु र ।” यता तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले खडेरीका कारण अहिले पालिकाको सवैभन्दा वढि वडा नम्बर १,२ र ३ का ढुकुरे,देवानगाउँ,थेबाङ,चुवाडे,खैरेनी,मेवा,साकफारा,पिप्ले,रातमाटे लगायत क्षेत्रका स्थानिय वढि खडेरीका कारण प्रभावित भएका छन् । यस क्षेत्रका झण्डै १ हजार २ सय घरधुरी प्रभावित बनेका छन् ।
अव यस ठाउँका स्थानियका लागि गाउँपालिकाको योजनाहरु कामदारको रुपमा प्रयोग गरेर रोजगारी सिर्जना गर्ने बताउनुभयो । यस्तै यो गाउँपालिका सुख्खाग्रस्त क्षेत्र भएको र विशेष गाउँपालिका समेत भएको हुँदा प्रदेश र संघ समेत सहयोगका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार