प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षणः कुन विषय धेरैको रोजाइमा ?

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकास्थित कृषि प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

स्थानीय चन्दादाताको सहयोगमा संचालित शिक्षालयमा कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण बनाउने उद्देश्यका साथ विद्यार्थी आकर्षित भएका हुन् ।

जेटीए र आइएससी तहको पठनपाठन भइरहेको शिक्षालयमा तुलनात्मक रुपमा छात्राको आकर्षण बढी भएको देखिएको छ ।

२०६९ बाट १८ महिने जेटिए कोर्ष र गतवर्षदेखि ३ वर्षे आइ.एस.सी (एजी) तहको पठनपाठन  सुरु भएको शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दो रुपमा देखिन थालेको छ ।

सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दी लगायतका १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आइरहेका छन् ।

स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएकाहरुको सहयोगमा  शिक्षालय संचालन भैरहेको छ ।

पछिल्लो समय व्यावसायिक र प्राविधिक जनशक्तिको माग भइरहेकोले यस्तो क्षेत्रतर्फ अध्ययन गर्नेको संख्या बढ्न थालेको हो ।

जेटिए र आइ.एस.सी (एजी) विषयमा १ सय २३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

ती मध्ये ७३ जना छात्रा र ५० जना छात्र रहेको शिक्षालयका संयोजक करन कँडेलले जानकारी दिए ।

शिक्षालयमा मासिक ५ हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त हुने भएकोले पनि विद्यार्थीको संख्या दिनानुदिन बढ्दो छ ।

कृषि प्रधान मुलुक भनेर चिनिएपनि नेपालमा कृषिमा विज्ञ जनशक्तिको अभाव रहँदै आएको छ । अझै पनि कृषिमा आधुनिकीकरण गर्न सकिएको छैन ।

अधिकांश जमिनमा व्यावासयिक खेती नभएकोले  आधुनिक व्यावसयिक रुपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयका आकर्षित भएको आइएससी एजी प्रथम सेमेस्टरमा अध्ययनरत गरिमा नेपालीको भनाइ छ ।

त्यस्तै १८ महिने जेटिएमा अध्ययनरत जमुना घिमिरे पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आएकोले यसलाई व्यवसायिक रुपमा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताउँछिन् ।

त्यसो त करिब सबै विद्यार्थीको चाहना एउटै छ त्यो हो कृषि पेशालाई व्यवस्थित र व्यावसायिक रुपमा विकास गराउने ।

छात्रछात्राको उल्लेख्य सहभागिता रहेको विद्यालयलाई थप उन्नत बनाउन स्थानीयवासीका साथै सरकारले समेत सहयोग गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार