गोपाल गिरी
कन्याम : आफूले मेहनत गरेर उब्जाएको लगाएको विभिन्न अन्नबाली तथा तरकारी बाली बाँदरले सखाप पार्न थालेपछि इलामको कन्याम क्षेत्रका किसान चिन्तित बनेका छन् ।
किसानले लगाएको मकै, अलैंची नली, अम्लिसोको टुसा, बाँसको तामा बाँदरले दिनुहँ जसो निमिट्यान्न पार्ने गरेको छ । त्यस्तै काँक्रा, फर्सी र ईस्कूस लगायतका तरकारी बालीमा पनि बाँदरले सखाप पार्न थालेपछि बिक्री गरेर केही आयआर्जन गरौंला भन्ने किसानको आशा निरासामा परिणत हुन थालेको छ ।
वल्लतल्ल जाग्दै गरेको अलैंची र अम्लिसो गोडमेल र स्याहारसुसार गर्ने समयमै बाँदरले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । बाँदरले स्थानीय काजीमान तामाङ, माधव आचार्य, केशव आचार्य, प्रेमराज आचार्य लगायत किसानको बढी क्षति पुर्याएको भाग्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक तेजराज आचार्यले जानकारी दिए ।
बाँदरले दिएको सास्तीबारे विभिन्न समयमा विभिन्न क्षेत्र तथा निकायमा गई समस्या राखेपनि समाधानका लागि कतैबाट पहल नभएको स्थानीय गुनासो छ । किसानले आफूले गरे अनुसारको परिश्रमको फल नपाउने स्थितिमा पुगेपछि निरास बनेका छन् ।
वर्सेनि किसानले लगाएको बाली भित्र्याउन नपाउँदै बाँदरले सखाप पार्न थालेपछि स्थानीयले यसको दीर्घकालीन समाधानको उपाय खोजी गर्न सरोकारवालाहरुलाई माग गर्दै आएका छन् ।