स्वोरोजगार बनाउन महिलाहरुलाई सिपमुलक तालिम

युद्धबहादुर बोहोरा

इलाम : फाकफोकथुम-१ का महिलाहरुलाई सात दिने ललिपप बनाउने र १५ दिने मुढा बुनाइ सम्बन्धि तालिम सम्पन्न गरिएको छ।

उत्पादन मुलक सिपको अभिवृद्धि गरि ग्रामीण क्षेत्रमा रहेका महिलालाई स्वोरोजगार बनाउने उद्देश्यले गाउँपालिका र वडा न.-१ को आर्थिक सहयोग तथा सचेतना केन्द्र र महिला संजालको आयोजनामा तालिम संचालन गरिएको थियो।

संजालकी अध्यक्ष सरस्वती खड्काको अध्यक्षता र वडाध्यक्ष टेकवीर नेम्वाङको प्रमुख आतिथ्यमा तालिम समापन भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले प्रशिक्षलाई धन्यवाद दिंदै महिलाहरु उत्साहका साथ तालिममा सहभागि भएकोमा बधाई दिए। आगामी दिनमा महत्त्वपूर्ण तालिम संचालन गरिने र नयाँ आर्थिक वर्ष देखि सुत्केरी खर्च रु.दुई हजार र मृतकको किरिया खर्च स्वरुप रु.तीन हजार प्रदान गर्न लागिएको जानकारी गराए। यस अघि कानुनी साक्षरताको लागि महिलाहरुलाई अभिमुखिकरण जनचेतना कार्यक्रम संचालन गरिएको र यस बाट चेतनाको विकासमा थप मद्दत पुगेको उनको भनाइ छ।

तालिममा ललिपप बनाउन पुरुष चार र महिला ११ गरि जम्मा १५ जना सहभागी थिए भने मुढा बुनाइको लागि १५ जना महिलाहरुको सहभागिता थियो। ललिपपको लागि खगेन्द्र लिम्बू र मुढा बुनाइको लागि धनराज नेम्वाङले प्रशिक्षण दिएका थिए। समापनमा प्रशिक्षलाई मायाको चिनो सहित सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा विशेष अतिथि आदिवासी जनजाति महासंघ वडा न.-१ का अध्यक्ष दानबहादुर तामाङ, प्रशिक्ष धनराज नेम्बाङ,संजालकी कोषाध्यक्ष उमाकान्त भण्डारी सदस्य रुपा तामाङ, सिर्जना भट्टराई,टीका बस्नेत,शिक्षिका तिलमाया दाहाल लगायतले शुभकामना राखेका थिए।

तालिममा उत्कृष्ट मुढा बुन्ने प्रथम,द्वितीय र तृतीय क्रमश विमला नेम्वाङ,जानुका खड्का र सोममाया राईलाई पुरस्कार दिइएको थियो। उपस्थितलाई ललिपप र सहभागीलाई सिप अनुसारको सामाग्री वितरण गरिएको थियो। सहभागीलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रम संजालकी सचिव सुकमाया थेगिमले संचालन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार