आदिवासी जनजातिको क्षमता अभिवृद्धिमा सहयोग हुन्छ : प्रमुख बस्नेत

इलाम :“फोनिज इलामको तालिम सुरु” इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले आदिवासी जनजाति समुदायको क्षमता अभिवृद्धिका लागि भरपूर सहयोग गरिने बताएका छन् । आइतबारबाट इलाममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलाम जिल्ला समितिको आयोजनामा सुरु भएको ३ दिने आधारभूत पत्रकारिता तालिम उद्घाटन गर्दै प्रमुख बस्नेले सो कुरा बताएका हुन् ।

नगर प्रमुख बस्नेतले भने -“अब आदिवासी जनजातिको सम्पादा र संस्कृतिलाई संकुचित पार्ने भन्दा पनि बृहत् बनाउँदै सबैको साझा संस्कृतिको रूपमा विकसित गर्न आवश्यक छ ।” उनले जातिगत आधारमा कसैलाई विभेद नगरिने भन्दै स्थानीय सरकारलाई खबरदारी गर्न स्थानीय स्तरमा पत्रकारिताले सशक्त आवाज उठाउनुपर्ने जिकिर गरे ।

पत्रकारिताको विकास र नागरिकको सूचना पाउने हकप्रति सचेत हुँदै हिउँदे नगर अधिवेशनबाट स्थानीय मिडिया ऐन पारित गर्ने प्रतिवद्धता जनाउँदै बस्नेतले भने -“स्थानीय मिडिया ऐन निर्माणका लागि नगरपालिका सबै पत्रकार साथीहरुको सहयोग र सुझाव लिएर अघि बढ्न तयार छ ।” उनले फोनिज इलामको आयोजनामा सुरुभएको तालिम सफलताको समेत शुभकामना व्यक्त गरे । तालिम उद्घाटन कार्यक्रममा बोल्दै फोनिजका केन्द्रीय सचिव कमन देवानले फोनिजको अभियान आदिवासी जनजाति समुदायका संस्कृति, सम्पादा, ईतिहास, भाषा र सरोकारलाई संस्थागत गर्दै पहिचान, प्रतिनिधित्व र पहुँचको खोजी रहेको बताए । देवानले भने -“तीनै तहका सरकारहरुसँग हामी हाम्रा सरोकारका सवाल कार्यान्वयन गराउन सहकार्य, सहमति र सद्भाव विकास गरेर अघि बढ्न चाहन्छौं ।” उनले आदिवासी जनजाति समुदाय निरन्तर विभेद्को शिकार भैरहनु शुभ संकेत नभएको जिकिर गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले पत्रकारिता तालिम जसले आयोजना गरे पनि सिकाइने विषय पत्रकारिताका आधारभूत मूल्य मान्यता नै हुने र त्यसमा जातीयता नरहने जिकिर गरे । महासंघका प्रदेश नम्बर १ उपाध्यक्ष सोमनाथ सुसीलीले आधारभूत तालिममा सिकेका कुरालाई उपयोग गरेर व्यवसायिक पत्रकारितातर्फ अग्रसर हुन सहभागीलाई शुभकामना दिए ।

कार्यक्रममा फोनिज केन्द्रीय सदस्य ख्याम भुजेल, महासंघ इलाम अध्यक्ष कोकिला ढकाल, प्रेस सेन्टर इलामका अध्यक्ष राजेश पराजुली, आदिवासी जनजाति महासंघ इलाम ककोषाध्यक्ष प्रमिला राई लगायतले शुभकामना व्यक्त गरेका थिए । फोनिज इलाम सह-सचिव सिर्जना श्रेष्ठको सन्चालन रहेको कार्यक्रममा स्वागत कोषाध्यक्ष बुद्धमाया सोङ्मीले र अध्यक्षता राम योङ्हाङको रहेको थियो । मङ्गलबारसम्म सन्चालन हुने आधारभूत पत्रकारिता तालिममा इलामका विभिन्न स्थानबाट २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । तालिममा इलाम नगरपालिकाको १ लाख २० हजार, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाको क्रमश: ३० हजार र २० हजार रूपैयाँ आर्थिक सहयोग रहेको आयोजकले जानकारी दिएका छन् । फोनिज केन्द्रीय सचिव देवानले तालिममा सहजीकरण गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार