
इलाम : इलाम सदरमुकामस्थित इलाम अस्पतालको आकस्मिक भवन निर्माणको शिलान्यास गरिएको छ । भारत सरकारको सहयोगमा ११ करोड ९८ लाख ५ हजार ६५७ रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास गरिएको छ ।
अस्पताल परिसरमा आयोजित कार्यक्रममा भारतीय राजदुतावासका काउन्सिलर गीताञ्जली ब्रेडन र इलाम नगरपालिकाका प्रमुख केदार थापाले संयुक्त रुपमा शिलान्यास गरे ।
भवन निर्माणका लागि भारतीय राजदुतावासको ‘शीघ्र प्रभाव परियोजना’ अन्तर्गत १९ करोड ७५ लाख ४४ हजार ४२० रुपैयाँ (९० प्रतिशत) र इलाम नगरपालिकाको दुई करोड १९ लाख ४९ हजार ३८० रुपैयाँ (१० प्रतिशत) लागत साझेदारी रहने इलाम नगरपालिकाले जनाएको छ ।
सो रकममध्ये १४ करोड १५ लाख ४४ हजार ४२० रुपैयाँ भवन निर्माणतर्फ विनियोजन गरिएकोमा ११ करोड ९८ लाख ५ हजार ६५७ रुपैयाँमा ठेक्का लागेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि १५ महिनाभित्र काम सम्पन्न गर्ने गरी अर्थ डिजाइनर एण्ड डेभलभमेन्ट प्रालिसँग सम्झौता भएको छ । २०८२ साल फागुन १४ गते भएको सम्झौताअनुसार २०८४ जेठ साल १३ गतेसम्म अस्पतालनको भवन निर्माण सक्नुपर्नेछ । निर्माण हुने भवनको बेसमेन्टमा पार्किङस्थल र पहिलो तलामा आकस्मिक कक्ष रहनेछ ।
त्यस्तै पाँच करोड ६० लाख स्वास्थ्य उपकरण खरिद तथा बाँकी रकम आन्तरिक व्यवस्थापनमा खर्च गर्नेगरी दुतावाससँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।
यसैबीच भारतीय राजदुतावासले पहिलो किस्ताबापत दुई करोड पाँच लाखको चेक इलाम नगरपालिकालाई हस्तान्तरण गरेको छ । काउन्सिलर गीताञ्जली ब्रेडनले प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कालाई चेक हस्तान्तरण गरे ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले नगरपालिकाको आफ्नै नगर अस्पताल नभएकाले इलाम अस्पताललाई सुदृढ बनाउन सहयोग गरिएको बताए । ‘हाम्रो नगरपालिका सदरमुकामको नगरपालिका भएकाले छुट्टै नगर अस्पताल छैन । त्यसैले यही अस्पताललाई व्यवस्थित र सुदृढ बनाउन पहल गरेका हौं,’ नगरप्रमुख थापाले भने, ‘हाम्रो पहलमा दुतावास र नगरपालिकाबीच १० नोभेम्बर २०२५ मा समझदारी भएको थियो, त्यही समझदारीअनुसार भवन निर्माण कार्य सुरु भएको हो ।’























































