चुलाचुली गाउँपालिका र नोबेल मेडिकल कलेजबीच सम्झौता, नागरिकलाई उपचारमा २५% छुट (सम्झौता पत्रसहित)

  राम योङहाङ
294 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिबीच गाउँपालिकावासीलाई उपचार सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यसहित आपसी सम्झौता सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका-४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र चुलाचुली गाउँपालिका, इलामबीच मिति माघ १५ गते बिहीबार सम्झौता गरिएको हो । सम्झौताअनुसार चुलाचुली गाउँपालिकामा बसोबास गर्ने नागरिकहरूले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गर्दा विभिन्न सेवामा सहुलियत प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा उल्लेख गरिएअनुसार, चुलाचुली गाउँपालिकामा बसोबास गर्ने स्वास्थ्य बीमा गरेका नागरिकहरूले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य उपचार सेवासँग सम्बन्धित सम्पूर्ण सुविधा (स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक औषधि उपचार कोषलगायत) प्रयोग गर्न सक्नेछन् । साथै, अस्पतालको ओपिडी (ओपीडी) सेवामा २५ प्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ।

सम्झौताअनुसार बिरामीले उपचार सेवा लिन अस्पताल आउँदा गाउँपालिकाबाट अध्यक्ष वा निजले तोकेको पदाधिकारीको सिफारिससहित परिचयपत्र, नागरिकताको प्रतिलिपि तथा १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस सम्झौता प्रत्यक्ष स्वास्थ्य उपचार सेवासँग सम्बन्धित सेवामा मात्र लागू हुने जनाइएको छ। IVF, प्लास्टिक सर्जरी, कसमेटिक सर्जरी, क्याबिन तथा बेड शुल्क, औषधि तथा चिकित्सकीय सामग्री (इम्प्लान्ट, सर्जिकल आइटम, कन्ज्युमेबल आइटम) मा भने छुट सुविधा लागू नहुने सम्झौतामा उल्लेख गरिएको छ।

सम्झौता मिति २०८२ माघ १५ देखि लागू भई एक वर्षसम्म कायम रहने जनाइएको छ। आवश्यक परेमा दुवै पक्षको सहमतिमा सम्झौताको शर्त परिमार्जन गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

सम्झौतामा पहिलो पक्षको तर्फबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राई रजनसम्पर्क अधिकृत नविन दहालले हस्ताक्षर गरेका छन् । त्यसैगरी दोस्रो पक्षको तर्फबाट चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले हस्ताक्षर गरेका छन् ।

गाउँपालिकावासीलाई सहज, गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सम्झौताले चुलाचुली गाउँपालिकाका नागरिकहरूलाई उपचार खर्चमा राहत पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

‘ग्रामीण भेगका नागरिकहरू महँगो उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको हो,’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘यसले चुलाचुलीवासीलाई ठूलो राहत पुग्नेछ ।’

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राईले चुलाचुली गाउँपालिकासँग गरिएको यो सम्झौताले उपचार पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले आवश्यक कागजातसहित बिरामीले अस्पताल पुगेपछि सहज रूपमा सेवा लिन सक्ने बताए ।

स्थानीयवासीहरूका अनुसार यस सम्झौताले निजी अस्पतालमा उपचार खर्चका कारण हुने आर्थिक बोझ कम हुने र आपतकालीन अवस्थामा समेत छिटो र गुणस्तरीय सेवा पाउन सहज हुने विश्वास गरिएको छ ।

सम्झौतापत्र :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार