
इलामः फाकफोकथुम–४ (साबिक फुएतप्पा–२) निवासी अम्मरबहादुर थेगिमकी श्रीमती कुसुम चेम्जोङ अहिले ज्यानै जोखिममा परेको छ । दुवै मिर्गौला खराब भई उनी बिराट मेडिकल कलेज टिचिङ अस्पताल, बिराटनगरमा जीवन–मरणको संघर्ष गरिरहेकी छन्।
कुसुम केही समयदेखि मिर्गौला रोगसँग लडिरहेकी थिइन्। हाल उनका दुवै मिर्गौला काम गर्न छाडेपछि नियमित डायलाइसिस गर्दै उपचार गराउँदै आएकी छिन्। तर अब डायलाइसिसले मात्र जीवन धान्न नसक्ने भएको चिकित्सकहरूको भनाइ छ। जसका कारण तत्काल मिर्गौला प्रत्यारोपण अनिवार्य भएको छ।
यति मात्र होइन, कुसुमको मुटुको दुईवटा भल्भमा गम्भीर समस्या देखिएपछि शल्यक्रिया (अप्रेशन) पनि अनिवार्यरूपमा गर्नुपर्ने स्थिति आएको परिवारले बताए । एकपछि अर्को जटिल उपचारका कारण खर्च अत्यधिक बढेपछि आर्थिक रूपमा कमजोर परिवार पूर्ण रूपमा असहाय बनेको छ। परिवारका अनुसार उपचारको विजुलीको गतिमा बढ्दै गएको खर्चसमक्ष अब सामान्य घरले टिक्न नसक्ने अवस्था छ। पैसा नहुँदा मिर्गौला प्रत्यारोपण जस्ता महत्वपूर्ण उपचारमा ढिलाइ हुँदै गएको छ, जसले कुसुमको जीवनलाई अझ जोखिममा पारेको छ।
“बचाउन सकिन्छ, तर खर्च थेग्न नसक्ने भएकाले उपचार अघि बढाउन सकिएको छैन,” कुसुमका श्रीमान् अम्मरबहादुर लिम्बू पीडामा भन्छन्।
कुसुमका साना–ठूला सबै आशा अब जनसमुदाय, सहयोगी मन भएका महानुभावतर्फ पुगेका छन्। उनलाई सहयोग गर्न इच्छुक महानुभावले मोवाइल नम्बर ९८४०७३१६४० मा सम्पर्क गरी क्युआर कोडमा सहयोग जम्मा गरिदिन समेत अपिल गरेका छन् । सबैको सानो–सानो सहयोगले पनि उनको जीवन बच्छ भन्ने विश्वास परिवारले व्यक्त गर्दै सहयोगको अपेक्ष गरेका चन् ।
परिवारले कुसुम चेम्जोङको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैमा आर्थिक सहयोग तथा पोस्ट सेयर गरेर सहयोगको हात थपिदिन पनि आग्रह गरेका छन् ।



















































