२८ महिनापछि साउदीको जेलबाट छुट्दै प्रेमबहादुर राई, परिवारमा छायो खुशी

इलाम : लामो समयसम्म जेलमा रहँदा कसलाई पो पीडा हुँदैन र ? त्यो पनि परदेशमा । त्यही पीडापछिको खुशी बोकेर इलामका प्रेम बहादुर राई (राजु) आइतबार नेपाल आउँदै छन् । इलामको माई नगरपालिका वडा नम्बर ४ का राई २ वर्ष ४ महिना जेल जीवन बिताएर नेपाल आउने भएका हुन् ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको बिगो रकम भुक्तान भएपछि राई आइतबार नेपाल फर्कर्ने भएका हुन् ।

प्रेम साउन २० गते (५ अगष्ट) आइतबार बिहान साउदी अरबको समय अनुसार ६ बजे दिल्ली हुँदै ४ः१५ बजे काठमाडौं आइपुग्ने प्रेम बचाऊ अभियान मूल समितिले जानकारी दिएको छ  ।

राईले चलाएको लरीले बोकेको केबल तार चोरी भएपछि त्यस बापतको क्षतिपूर्ति रकम ३ लाख १० हजार रियाल (९५ लाख नेपाली रुपैयाँ) भुक्तान गर्न कम्पनीले माग गरेको थियो । पैसा बुझाउन नसक्दा कम्पनीले मुद्धा हालेपछि उनी साउदीको जेलमा कष्टकर जीवन बिताउन बाध्य थिए ।

नेपाली राजदूतावासको समन्वयमा गठित ‘प्रेम बचाऊ अभियान’बाट संकलन भएको रकमबाटै बिगो रकम साउदी रियाल अनुसार १ लाख ५० हजार (४३ लाख ३ हजार ५ सय ) रकम बुझाएपछि कम्पनीले जेल मुक्त गरी नेपाल पठाउने भएको ‘प्रेम बचाऊ अभियान मूल समिति’ ले जनाएको छ ।

बिगो रकम नबुझाइ रिहाई नहुने भएपछि प्रेमको रिहाईको लागि २०७३ असारबाट नै पहल थालिएको थियो । प्रेम बचाऊ अभियान मूल समिति बनाएर १ वर्ष अघिबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेर सहयोग रकम संकलन गर्न सुरु गरिएको थियो । सबैबाट साथ सहयोग जुटेपछि पारिवारिक पुनर्मिलन गराउन सफल भएको समितिले जनाएको छ ।

प्रेम कसरी परे साउदी जेलमा ?

प्रेम सन् २०१२ जुन १२ तारिकका दिन क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लरी) चालकको रुपमा साउदी जानु भएको थियो । सन् २०१५ सेप्टेम्बर ४ तारिखका दिन घर आइ पुनः २०१६ जनवरी १ तारिखका दिन उनी त्यही कम्पनीमा कामका लागि गएका थिए ।

२०१६ मार्च ३१ तारिखका दिन लरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकी साथीलाई भेट्न गएका थिए । साथी भेटेर फर्कँदा पार्किङ गरेको ठाँउमा गाडी नभेटेपछि कम्पनीलाई जानकारी गराएका थिए ।

कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबीसहित अदालतमा मुद्धा हालेको थियो । अदालतले तोकेको २ महिना कैद र ५० कोर्राको सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिइ पुनः मुद्धा हालेर ३ लाख १० हजार रियाल (नेपाली ९५ लाख) क्षतिपूर्ति दाबी गरेको थियो । क्षतिपुर्ती बुझाउन नसक्दा उहाँ गएको २८ महिनादेखि साउदी प्रहरीको नियन्त्रणमा थिए ।

परिवारमा खुशी 

प्रेमकी श्रीमती सरिता राई खोसिएको खुशी फेरि फर्किएको छ भन्छिन्, ‘म, बुवाआमा मात्र होइन छोरी राशिकाको समेत खुशी उचालिएको छ ।’ छोरो रिसिभले भने बुवालाई नचिन्ने उनको भनाई छ । उनले भनिन्, ‘प्रेम बचाऊ अभियान मूल समितिले बोलाएको छ । हामी शनिबार काठमाडौं जादैछौँ ।  सहयोगी मनका सम्पूर्णमा आभार प्रकट गर्छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार