जनताको सुझाव सुन्न सूर्योदय नगरपालिका मैदानमा : आइतबार गोर्खेमा सार्वजनिक सुनुवाइ हुँदै

  नयाँ बुलन्द
0 Shares

इलाम : जनताको सुझाव, गुनासा र जिज्ञासा प्रत्यक्ष रूपमा सुन्न सूर्योदय नगरपालिकाले आइतबार गोर्खेमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ ।

नगरपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माण, प्रशासनिक कार्यप्रणाली तथा जनप्रतिनिधि र कर्मचारीको भूमिकाबारे नागरिकको प्रत्यक्ष धारणा संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रम सूर्योदय नगरपालिका-१ नं. वडा कार्यालष गोर्खेको प्राङ्गणमा आयोजना गरिने जनाइएको छ । सार्वजनिक सुनुवाइमा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।

कार्यक्रमको पहिलो चरणमा चालु आर्थिक वर्षमा नगरपालिकाबाट भएका विकास निर्माण, सेवा प्रवाह तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रगति विवरण प्रस्तुत गरिनेछ । साथै अघिल्लो सार्वजनिक सुनुवाइमा उठेका गुनासा, प्रश्न र सुझावको कार्यान्वयन अवस्थाबारे पनि जानकारी गराइनेछ। त्यस्तै तेस्रो पक्ष बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट तयार गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन प्रतिवेदन प्रस्तुत हुनेछ ।

त्यसपछि दोस्रो चरणमा सेवाप्रदायक निकाय र सेवाग्राहीबीच प्रत्यक्ष सवाल-जवाफ कार्यक्रम हुनेछ । यस क्रममा स्थानीय बासिन्दाले विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, सुशासन तथा अन्य सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा र सुझाव राख्न सक्नेछन् ।

कार्यक्रममा उठेका विषयहरूको समाधानका लागि आवश्यक पहल गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दल, महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवा, पत्रकार तथा अन्य सरोकारवालालाई कार्यक्रममा उपस्थित भई आफ्ना धारणा राख्न आग्रह गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, सेवा प्रवाहलाई पारदर्शी तथा जवाफदेही बनाउने र जनताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार