बोहोरा बन्धु एकता समाज फाकफोकथुम, इलामको अध्यक्षमा भोजबहादुर बोहोरा चयन

  युद्धबहादुर बोहोरा
609 Shares

इलामः फाकफोकथुम गाउँपालिकामा बसोबास गर्ने बोहोरा बन्धुहरूबीच एकता, समन्वय र परम्परागत संस्कारलाई निरन्तरता दिने उद्देश्यले “बोहोरा बन्धु एकता समाज फाकफोकथुम, इलाम” गठन गरिएको छ। मंगलबार सम्पन्न बन्धु भेलाले भोजबहादुर बोहोराको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा घनेन्द्रबहादुर बोहोरा, सचिवमा बलबहादुर बोहोरा, सहसचिवमा चन्द्रप्रकाश बोहोरा तथा कोषाध्यक्षमा कमला बोहोरा चयन भएका छन्। सदस्यहरूमा सुरेन्द्रबहादुर बोहोरा (सुधीर), कमलादेवी बोहोरा, खगेन्द्रबहादुर बोहोरा, गणेशबहादुर बोहोरा (कुलधामी), गंगा न्यौपाने बोहोरा, दिलिप बोहोरा, केशरबहादुर बोहोरा र खम्बसिं बोहोरा रहेका छन्।यसैगरी गणेशबहादुर बोहोराको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ। समितिका सदस्यहरूमा नारायणबहादुर बोहोरा, बमप्रसाद बोहोरा, भक्तबहादुर बोहोरा र रामबहादुर बोहोरा रहेका छन्।

खड्गसिं बोहोरा समूह फाकफोकथुम–१, खाम्बाङ, इलामले २०८२ साल चैत १५ गते पत्राचार गरेअनुसार आयोजित भेलामा उपस्थित जेष्ठ सदस्य रामबहादुर बोहोराको अध्यक्षता तथा बोहोरा बन्धु परिवार प्रतिष्ठान कुम्मायक शाखा यासोकका अध्यक्ष यामबहादुर बोहोराको प्रमुख आतिथ्य रहेको थियो। भेलामा बृहत् छलफलपछि समिति गठन गर्दै इलाममा रहेका बोहोरा बन्धुहरू पाँचथरको कुम्मायकस्थित लोरिपाबाट विभिन्न पुस्तामा बसाइँ सरेर आएकोले अब एकै विधि, परम्परा र पद्धतिअनुसार काम गर्ने निर्णय गरिएको जनाइएको छ। भेलाले छुटिएका दाजुभाइलाई क्रमशः समावेश गर्दै जाने, उधौली-उभौली पर्व सामूहिक रूपमा मनाउने तथा प्रत्येक तीन वर्षमा लोरिपामा आयोजना हुने देवालीमा सामूहिक सहभागिता जनाउने निर्णय पनि गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि यामबहादुर बोहोराले कुम्मायक शाखाले गर्दै आएका गतिविधि, परम्परा र कार्यपद्धतिबारे जानकारी गराउँदै केन्द्रीय समितिको विधानअनुसार मातहतमा रहेर काम गर्नुपर्ने बताए। उनले यासोकबाट प्रकाशित पुस्तक र विधानको एक–एक प्रति नवनिर्वाचित समितिलाई हस्तान्तरण गर्दै नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिए। भेलामा फाकफोकथुम-१ को पचेवा, घुर्विसे पञ्चमी, पुरानो पञ्चमी, खाम्बाङ, वडा नम्बर २ को धार्नेखोप तथा वडा नम्बर ६ को मेतालुङ क्षेत्रमा बसोबास गर्ने बोहोरा बन्धुहरूको उपस्थिति रहेको थियो। भौगोलिक समानता र सहज समन्वयलाई ध्यानमा राख्दै समिति गठन गरिएको जनाइएको छ।कार्यक्रममा कुम्मायक शाखा यासोकका कोषाध्यक्ष तेजबहादुर बोहोरा, कुलधामी भिमबहादुर बोहोरा, सदस्य विष्णु बोहोरा लगायतको पनि उपस्थिति रहेको थियो।

कुम्मायक शाखा योसोकको भेलाले २०७३ साल साउन ३१ गते यासोक, रानीगाउँ, स्याबरुम्बा तथा फिदिमका तीन परिवारसहित जम्मा ५९ घरधुरी बोहोरा बन्धुहरूको भेलाबाट गरिएका महत्वपूर्ण निर्णयलाई बोहोरा बन्धु एकता समाज फाकफोकथुम, इलामले पनि निरन्तरता दिने निर्णय समेत गरेको छ। ती निर्णयअनुसार शुभ-अशुभ कार्यमा सबै घरधुरीलाई अनिवार्य निमन्त्रणा गर्ने, मरीमराउ पर्दा दशौं दिनमा अनिवार्य उपस्थित हुने, कुलपूजा र गोठधुपमा अनिवार्य सहभागिता जनाउने, आफ्नो गाउँ बाहिर बसोबास गर्ने बन्धुहरूमा हुने मरीमराउको सूचना तुरुन्त प्रवाह गर्ने तथा यहाँका बन्धुहरुको घरधुरीभित्र काजकिरिया चलिरहेको बेलामा शुभकार्य स्थगित गर्ने जस्ता परम्परागत अभ्यासलाई निरन्तरता दिइने भएको छ। नवनिर्वाचित समितिले बोहोरा बन्धुहरूबीच एकता, सहकार्य र परम्परागत मूल्य-मान्यताको संरक्षण गर्दै आगामी दिनमा संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार