इलाममा आठ हजार ४४९ मत मत बदर

इलाम : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्षतर्फ) इलाममा ६ दशमलव ४२ प्रतिशत मत बदर भएको छ ।

दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा दुवै क्षेत्रमा गरी एक लाख ३१ हजार ६२१ मत खसेकोमा आठ हजार ४४९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

क्षेत्र नं. १ मा ६३ हजार ९५७ मत खसेकोमा चार हजार ५६६ मत बदर भएको छ । सो क्षेत्रमा कुल एक लाख १२ हजार ३२० मतदाता थिए । त्यस्तै क्षेत्र नं. २ मा ६७ हजार ६६४ मत खसेकोमा तीन हजार ८८३ मत बदर भएको छ । सो क्षेत्रमा सो कुल एक लाख १९ हजार ४८९ मतदाता थिए ।

निर्वाचन कार्यालयका प्रमुख देवीचरण फुएलले मतदाता शिक्षा सञ्चालन भए पनि अधिकांश मतपत्रमा दोहोरो सङ्केत गरेको र कतिपय मतपत्र पट्याउने क्रममा समेत दोहोरो छाप देखिएर बदर भएको बताए । उनले मतदाताले मत माग्न आएको सबै दलको चिन्हमा छाप लगाएकाले धेरै मत बदर भएको बताए ।

निर्वाचन आयोगले मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि गर्न र बदर मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्न फागुन ३ गते १७ गतेसम्म प्रत्येक वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक खटाएको थियो । यहाँको ८१ वटै वडामा ८१ जना स्वयंसेवकले मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्वलगायतको विषयमा जानकारी गराएको थियो ।

यद्धपि, मत बदर संख्या भने अपेक्षाकृत रुपमा न्यूनीकरण हुन नसकेको जिल्ला निर्वाचन प्रमुख फुएलले बताए । उनले बदर मतको सन्दर्भमा कार्यालयको तर्फबाट विभिन्न ५ वटा सूचकका आधारमा सर्वेक्षण फाराम भरेर सुझावसहित आयोगमा पठाउने तयारी बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार