देउवाको विरासत जोगाउन नसकेका नैनसिंहले हारपछि भावुक हुँदै भने– ‘जनमतलाई शिरोधार्य गर्छु’

धनगढी । डडेलधुराको चुनावी नतिजामा यस पटक ३४ वर्षपछि ठुलो उथलपुथल देखिएको छ। नेपाली कांग्रेसको बलियो गढ मानिने यो जिल्लामा कांग्रेसको वर्चस्व तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. तारा जोशी विजयी भएका छन्।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको विरासत थाम्न चुनावी मैदानमा उत्रिएका नैनसिंह महर भने १२ हजार १ सय २१ मतमा सीमित बन्न पुगे।

२०४८ सालदेखि २०७९ सम्मका सात वटा संसदीय निर्वाचन लगातार जित्दै पाँच पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा यस पटक चुनावी मैदानमा थिएनन्। पार्टीभित्र गगन थापा नेतृत्वको टोलीले पुस्तान्तरणको अभ्यास लागु गर्न खोजेपछि देउवा अभिभावकको भूमिकामा बसेका थिए। देउवाको अनुपस्थितिमा डडेलधुरा जोगाउने जिम्मा पाएका महर भने यस पटक चुकेका छन्।

Laxmi sunrise bank

महरको पराजयको मुख्य कारण देशव्यापी रूपमा चलेको रास्वपाको लहरलाई मानिएको छ। साथै, सधैँ आफैँ चुनाव लड्ने देउवा यस पटक मैदानमा नदेखिँदा डडेलधुराका पुराना मतदातामा देखिएको असन्तुष्टि पनि कांग्रेसका लागि महँगो साबित भयो। परिवर्तनको आशामा विगतमा देउवालाई भोट हाल्ने मतदाताले पनि यस पटक रास्वपा रोजेको देखिन्छ।

Shivam Cement

देउवाका उत्तराधिकारीका रूपमा टिकट पाएका महर डडेलधुराकै विद्यार्थी राजनीतिबाट खारिएका नेता हुन्। २१ वर्षको उमेरमै २०५२ सालमा नेविसंघ डडेलधुराको कार्यवाहक सभापति र २०५६ मा जिल्ला सभापति हुँदै उनी २०७३ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए। राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका महरले कान्तिपुर दैनिक, रासस र रेडियो नेपालमा पत्रकारिताको अनुभव पनि सँगालेका छन्। वैचारिक रूपमा स्पष्ट र युवा जोस भएका कारण पार्टीले उनलाई टिकट दिए पनि देउवाको नाममा भोट माग्न जति सजिलो थियो, नयाँ अनुहारका लागि त्यो विरासत जोगाउन उति नै कठिन भयो।

Nabil bank

चुनावमा पराजित भएपछि नैनसिंह महरले सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातालाई धन्यवाद दिँदै नतिजालाई सहज रूपमा स्वीकार गरेका छन्। उनले जनताको अभिमतलाई उच्च सम्मानका साथ शिरोधार्य गर्ने बताएका छन्।

Arghakhachi Cement

उनले लेखेका छन्, ‘परिणाम हाम्रो अनुकूल नआए पनि लोकतन्त्रको वास्तविक सौन्दर्य नै जनमतको सर्वोच्चता हो। तसर्थ, जनताको यो अमूल्य अभिमतलाई म अत्यन्तै विनम्रता र उच्च सम्मानका साथ शिरोधार्य गर्दछु।’

उनले नवनिर्वाचित सांसद डा. तारा जोशीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्। हारजितलाई गणितीय प्रक्रिया बताउँदै महरले आफ्नो सेवाभावमा कुनै कमी नआउने प्रण गरेका छन्।

‘निर्वाचन एउटा गणितीय हारजितको प्रक्रिया हो, तर राजनीति समाज परिवर्तनको अनवरत यात्रा हो,’ महरले फेसबुकमा लेखेका छन्, ‘पदमा रहनु वा नरहनुले मेरो सेवाभावलाई कुनै फरक पार्ने छैन। मेरो बाँकी जीवन पनि यही डडेलधुराको माटो, यहाँका जनताको हित र समुन्नत राष्ट्र निर्माणमा समर्पित रहनेछ।’

उनले सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि सदन बाहिरबाटै आफ्नो आवाज बुलन्द गरिरहने प्रतिबद्धतासमेत जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार