इलाममा ५७ प्रतिशत मत खस्यो

 

इलाम : इलाम जिल्लामा ५७ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।

जिल्लाभरिका मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो। विशेषगरी ग्रामीण भेगका केन्द्रहरूमा बिहानैदेखि मतदाताको लाम देखिएको थियो भने शहरी क्षेत्रमा दिउँसोपछि मतदाताको उपस्थिति बढेको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार मतदान अवधिभर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। कुनै पनि अप्रिय घटना नघटी सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

यसैबीच मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको कार्य सुरु गरिएको छ। सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरी तोकिएको मतगणना स्थलमा ल्याइने तयारी गरिएको छ। मतपेटिका आजै रातिभर संकलन गरिने बताइएको छ।

इलाममा २ अस्थायी सहित १५० मतदान स्थल र २९० मतदान केन्द्र रहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि १ हजार ७४० कर्मचारी खटिएका थिए।

यसपटक फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका इलामका मतदाता संख्या २ लाख ३१ हजार ८०९ रहेको छ। जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार