
इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलामका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन कार्य सुरु गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सम्पन्न भएसँगै सुरक्षा व्यवस्थासहित मतपेटिका सम्बन्धित सङ्कलन केन्द्रतर्फ ल्याउने काम अघि बढाइएको हो। सदरमुकामस्थित गौतम बुद्ध सभागृह तथा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलस्थित सभाहलमा मतपेटिका ल्याउने क्रम जारी रहेको जनाइएको छ। दुर्गम तथा ग्रामीण क्षेत्रबाट पनि मतपेटिका ढुवानी भइरहेको छ।

मतपेटिका ढुवानीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र कर्मचारीको संयुक्त टोली परिचालन गरिएको छ। निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाउँदै कार्यालयले मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि तोकिएको स्थानमा मतगणना सुरु गरिने जनाएको छ। मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सीसी क्यामेरा जडान, तारजाली घेराबेरा तथा राजनीतिक दलका प्रतिनिधिका लागि बस्ने व्यवस्था मिलाइएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मतपेटिका सङ्कलन र मतगणनाको सम्पूर्ण प्रक्रिया पारदर्शी तथा व्यवस्थित ढंगले सञ्चालन गरिनेछ। मतगणना राजनीतिक दलका प्रतिनिधि र पर्यवेक्षकको उपस्थितिमा गरिने तयारी गरिएको छ।
इलाममा मतदान उत्साहपूर्ण र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो। अब जिल्लामा सबैको ध्यान मतगणनाको परिणामतर्फ केन्द्रित भएको छ।




















































