
घुर्बिसे पञ्चमीः नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड घुर्विसे पञ्चमी शाखाले शनिबार समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। इलाम–पाँचथर सीमाक्षेत्रमा रहेको शाखा कार्यालय पञ्चमी अन्तर्गतका सदस्यहरूलाई लक्षित गरी एकदिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम फाल्गुनन्द गाउँपालिका–५ का कार्यवाहक वडाध्यक्ष घनेन्द्रकुमार चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। इलाम अनुगमन अधिकृत पृथसिंह खत्रीले सहजीकरण गरेका थिए। कार्यालयकी कर्मचारी युना गुरुङले सञ्चालन गरेको कार्यक्रममा अनिता राई लेप्चाले स्वागत मन्तव्य राखेकी थिइन् भने संस्थाकी सदस्य विष्णुकुमारी राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ४३ जना समूह प्रतिनिधिको सहभागिता रहेको थियो। सफल उद्यमीहरूले आफ्ना सफलताका कथा सुनाउँदै व्यवसाय प्रवर्द्धनका अनुभव प्रस्तुत गरे।
अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो भने उत्कृष्ट समूहलाई प्रथमदेखि सान्त्वनासम्म पुरस्कार प्रदान गरियो। साथै उत्कृष्ट बचतकर्ता तथा ऋणीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दा जम्मा ६ जना पुरस्कृत भएका छन्। गोष्ठीमा वित्तीय ज्ञान, संस्थाका सेवा–सुविधा तथा उत्पादनबारे जानकारी दिइनुका साथै सहभागीका गुनासा सुनुवाइ गरी जिज्ञासाको उत्तर र सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो। शाखा प्रमुख मधुसुदन खनालले गोष्ठीको औचित्य, महत्व र उद्देश्यबारे प्रकाश पारे। घुर्विसे पञ्चमी शाखा २०७३ साल असार १ गते स्थापना भएको हो। हाल यस शाखामा ८७९ सदस्य आबद्ध छन् भने शाखा प्रमुखसहित ४ जना कर्मचारी कार्यरत छन्। पाँचथरका कुम्मायक, मिक्लाजुङ, फाल्गुनन्द तथा इलामको फाकफोकथुम गाउँपालिकाका सेवाग्राहीले यस शाखाबाट सेवा लिँदै आएका छन्।
शाखाले प्रविधिमैत्री सेवा विस्तार गर्दै सदस्यलाई लक्षित व्यवसायिक तथा सचेतनामूलक तालिम सञ्चालन गरिरहेको जनाएको छ। संस्थाका अनुसार देशभर १८५ शाखामार्फत सातै प्रदेशका ७४ जिल्लामा सेवा विस्तार गरिएको छ। हाल २ लाख ५९ हजारभन्दा बढी सदस्य आबद्ध छन् भने १ लाख २५ हजार ऋणी रहेका छन्। १५ वटा अनुगमन कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ र संस्थाको कुल लगानी २६ अर्ब रुपैयाँ पुगेको छ। संस्थाले बचत, कर्जा, बीमा र रेमिट्यान्सलाई एकै ठाउँबाट सेवा दिँदै डिजिटल प्रविधिलाई मुख्य आधार बनाएको छ। २०७१ सालमा स्थापना भएको संस्थाले “सबैका लागि वित्तीय पहुँच” नारालाई व्यवहारमा उतार्दै डिजिटल बैंकिङ विस्तारमा जोड दिएको जनाएको छ। हाल संस्थामा बचततर्फ ७.५ देखि ८ प्रतिशतसम्म ब्याजदर र कर्जातर्फ १४.३३ प्रतिशत ब्याजदर लागू छ।
पछिल्लो समय क–ख वर्गका बैंकमा न्यून ब्याजदर हुँदा, बचतकर्ताहरू बढी आकर्षित भई नेसनल लघुवित्तमा बचत गर्न आउने गरेको शाखा प्रमुख खनालले बताए। उनी भन्छन्, सहज र आकर्षक ऋण अवसरका कारण पनि यस संस्थामा सेवाग्राहीको संख्या निरन्तर बढ्दो छ।
व्यवसाय तथा कारोबारको आधारमा ७ लाख रुपैयाँसम्म बिना धितो र १५ लाख रुपैयाँसम्म धितोमा कर्जा उपलब्ध गराइँदै आएको छ। राहत तथा सामाजिक उत्तरदायित्वअन्तर्गत सेवाग्राहीको पहिलो र दोस्रो सन्तान जन्मिँदा प्रतिपटक २ हजार ५ सय रुपैयाँ, सदस्यका श्रीमान्को मृत्यु भएमा ५ हजार रुपैयाँ सहयोग प्रदान गरिन्छ। साथै दैवी प्रकोपमा सहयोग, विभिन्न अस्पतालमा उपचार सहुलियत सेवा तथा न्यून आर्थिक अवस्थाका सदस्यका परिवारबाट अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक सहयोग समेत उपलब्ध गराउने व्यवस्था रहेको संस्थाले जनाएको छ।



















































