
इलाम: पश्चिम इलामको ऐतिहासिक कन्सेरी माईगंगा मेला तथा चौथो सिरिजंगा स्मृति फुटबल प्रतियोगिता सहितको बृहत सांस्कृतिक कार्यक्रम माघ १ र २ गते आयोजना हुँदैछ । विगत लामो समयदेखि कफेक्वा तङ्नामका अवसरमा परम्परागत रूपमा लाग्दै आएको कन्सेरी माईगंगा मेला यस वर्ष माघ १ गतेदेखि २ गतेसम्म आयोजना हुनेछ। सोही अवसरमा पौष २९ गतेदेखि खुल्ला ९–ए–साइड नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु हुनेछ।
फाकफोकथुम –३, आचोक रातोमाटेस्थित सिरिजंगा स्मृति खेलमैदानमा हुने मेलाको तयारी सभ्य र भव्य रूपमा अगाडि बढिरहेको आयोजक सिरिजंगा सांस्कृतिक क्लबले जनाएको छ। मेलासँगै सञ्चालन हुने चौथो संस्करणको सिरिजंगा स्मृति फुटबल प्रतियोगिताका प्रथम, द्वितीय पुरस्कार तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको पुरस्कारसमेत सार्वजनिक गरिएको छ।
फुटबल प्रतियोगिताका पुरस्कार प्रथम पुरस्कार नगद रु ५५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र,द्वितीय पुरस्कार नगद रु ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र साथै व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता (वेस्ट स्कोरर) तथा उत्कृष्ट गोलरक्षक रहेका छन् । खेल उद्घाटन पौष २९ गते हुनेछ। प्रतियोगितामा उत्कृष्ट ८ टिमलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ।
माघ २ गते स्थानीय तथा राष्ट्रिय कलाकारहरूको वेजोड प्रस्तुतीसहित बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा ज्योती मगर, सेसेहाङ योङहाङ, आइन्द्र नेम्बाङ, निरन्ता नेम्बाङ लगायत कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रम फाकफोकथुम गाउँपालिकाको प्राविधिक सहयोग तथा वडा नं. ३, रातोमाटेको सहकार्यमा आयोजना हुन लागेको हो। आयोजकले ऐतिहासिक कन्सेरी माईगंगा मेलामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।



















































