प्रथम फाल्गुनन्द भेट्रान्स कप: कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ सेमिफाइनलमा


पाँचथर:
घुर्विसे पञ्चमी बजारमा जारी प्रथम फाल्गुनन्द भेट्रान्स कपमा कुम्मायक, फाल्गुनन्द, फाल्गुनन्द कर्मचारी र मिक्लाजुङको टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फाल्गुनन्द भेट्रान्सको आयोजनामा शुक्रबार फाल्गुनन्द-५ स्थित घुर्विसे पञ्चमी माविको खेलमैदानमा सुरु भएको दुई दिने भेट्रान्स फुटबल प्रतियोगिताको पहिलो खेलमा फाल्गुनन्द कर्मचारीको टोलीले फाकफोकथुम भेट्रान्सलाई सडेन डेथमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि सडेन डेथमा फाल्गुनन्द कर्मचारीको टोली ९-८ गोलअन्तरले विजयी भएको छ । खेलको म्यान अफ द म्याच फाल्गुनन्द कर्मचारी टोलीका कप्तान देवी तुम्बापो घोषित भएका छन् ।

दोश्रो खेलमा मिक्लाजुङ भेट्रान्सले फाल्गुनन्द-६ भेट्रान्सलाई ४-० गोलअन्तरले पराजित गरेको छ । मिक्लाजुङको तर्फबाट ह्याट्रिक गरेका कप्तान प्रदीप राई म्यान अफ द म्याच घोषित भएका छन् ।

आयोजक फाल्गुनन्द भेट्रान्स र फिदिम भेट्रान्सबीचको खेलभने विवादित हुन पुगेको थियो । फाल्गुनन्दको तर्फबाट भएको सुरुवाती गोल अफसाइड भएको भन्दै फिदिमले खेल बहिष्कार गरेपछि विवाद उत्पन्न भएको थियो । आयोजकको निर्णयानुसार विवादित गोल रद्दलाई गर्दै फिदिमलाई खेल खेल्नका लागि गरिएको अनुरोधका बावजूद फिदिमले खेल्न अस्वीकार गरेपछि फाल्गुनन्द भेट्रान्स वाकओभर पाएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक चौथो खेलमा कुम्मायक भेट्रान्सले प्रतियोगिताको दाबेदार टोली बौद्ध भेट्रान्सलाई टाइब्रेकरमा पराजित गरेको छ । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि टाइब्रेकरमा कुम्मायक भेट्रान्स ३-१ ले विजयी भएको छ । खेलको म्यान अफ द म्याच कुम्मायकका नन्द मगर घोषित भएका छन् ।

शनिबार आयोजना हुने पहिलो सेमिफाइनल खेलमा आयोजक फाल्गुनन्द भेट्रान्स र फाल्गुनन्द कर्मचारी टोली तथा दोश्रो सेमिफाइनल खेलमा कुम्मायक र मिक्लाजुङबीच प्रतिस्पर्धा हुनेछ । यसबीच महिलाहरुको एउटा मैत्रीपूर्ण खेल पनि आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल पनि शनिबार नै आयोजना हुनेछ ।

फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले उद्घाटन गरेको प्रतियोगितामा कुल आठवटा भेट्रान्स टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले बीस हजार नगद, ट्रफी, प्रमाणपत्र र उपविजेता टोलीले दस हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी सबै पाहुना टोलीलाई मायाको चिनो र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा सशस्त्र प्रहरी बलको एपिएफ क्लबको अन्डर-१८ टोलीमा छनौट भएका फाल्गुनन्द-५ निवासी खेलाडी येलुङ चेम्जोङलाई आयोजक फाल्गुनन्द भेट्रान्सको तर्फबाट सम्मान गरिने प्रतियोगिता संयोजक विनोद आङ्देम्बेले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार